NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

राष्ट्रिय सहमतिको विषयमा मेरो कुनै स्वार्थ छैन : पौडेल

काठमाडौं । कांग्रेसका नेता रामचन्द्र पौडेलले स्वार्थका लागि आफूले राष्ट्रिय सहमतिको विषय नउठाएको दाबी गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकता हेरेर अहिले पनि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । ‘मैले अहिले मात्रै होइन, पहिलेदेखि नै राष्ट्रिय सहमतिको कुरा गर्दै आएको छु । कतिपयलाई आफ्नो स्वार्थका लागि राष्ट्रिय सहमति खोज्यो भन्ने हुनसक्छ, तर त्यो होइन,’ उनले भने, ‘देशलाई संकटबाट मुक्त गर्नु हामी सबैको कर्तव्य हुन आउँछ । यसमा मेरो केही स्वार्थ छैन ।’

अहिले मुलुकको नाजुक अर्थतन्त्र, भूराजनीतिक दबाब र शान्ति प्रक्रियाका कामको पूर्णताका लागि राष्ट्रिय सहमति जरुरी रहेको उनले बताए । निर्वाचनपछि राष्ट्रपतिको दाबेदार रहेका पौडेल कांग्रेस–माओवादी गठबन्धन भत्किएपछि राष्ट्रिय सहमतिको कुरा गर्दै आएका छन् ।

अघिल्लो सरकारले दुई–दुई पटक संसद विघटन गरेपछि देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेका उनले योपटक प्रचण्डलाई प्रधानमन्त्री बनाएर आफू राष्ट्रपति बन्ने दाउमा थिए । तर देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद लिन खोज्दा प्रचण्ड बिच्किएका थिए । सत्ता समीकरण बदलिएपछि शक्ति सन्तुलनका आधारमा राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।