NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कस्तुरीको बिना चोरी–सिकारीमा हाइप्रोफाइल गिरोह

कोरियन नागरिक जंग जुन जुन पछिल्लो आठ वर्षमा १६ पटक नेपाल आए । राम्रो लागेर घुम्नका लागि उनी बारम्बार नेपाल आएका होइनन् । हरेकपटक आएको भोलिपल्टै उनी कोरिया फर्किहाल्थे । पछिल्लोपटक १३ असारमा पनि जुन नेपाल आए । त्यसको भोलिपल्ट कोरिया फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । त्यसपछि बल्ल उनी पटक–पटक आउनुको कारण खुल्यो ।

नेपालमा कस्तुरीको चोरी–सिकारी गरी बिनाको ओसारपसारका लागि उनी नेपाल आउने गरेका थिए । उनी यस्तो अपराधमा संलग्न एक अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको खुलेको छ ।

गत १४ असार विमानस्थलको चेकजाँचमा उनीबाट सात सय १६ ग्राम कस्तुरीको बिना धुलोको रूपमा बरामद भएको थियो । लगाएको जुत्ताभित्र बिना लुकाएर कोरिया लैजान खोज्दा उनी पक्राउ परेका थिए । जिल्ला वन कार्यालय, काठमाडौंले उनको गिरोहमाथि थप अनुसन्धान गरिरहेको छ । हालसम्मको अनुसन्धानमा यसमा ठूलो अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको सूचना पाइएको छ । तर, नेपालको रहेको सञ्जाल अझै पत्ता लाग्न सकेको छैन ।

डिभिजन वन कार्यालय, काठमाडौंका प्रमुख बद्री कार्कीले पक्राउ परेका कोरियन नागरिक भरिया मात्र नभई तस्करीमा संलग्न गिरोहकै व्यक्ति भएको र उनको सञ्जालका व्यक्तिमाथि अनुसन्धान भइरहेको बताए । जुनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । उनलाई ८५ दिनसम्म हिरासतमा राखेर वन र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरेको थियो । यो घटनाबाट वन्यजन्तुका अखेटोपहार तस्करीमा नेपालमा कोरियन गिरोह सक्रिय रहेको देखाएको छ ।

संगठित किसिमको अपराध देखिएपछि पक्राउ परेका कोरियन नागरिक जुनमाथिको अनुसन्धानमा वन कार्यालयसँगै (सिआइबी)को पिलर नम्बर ४ पनि जोडियो । तर, करिब दुई महिनासम्म केही सूत्र फेला पार्न सकेन । जुनले आफ्नी माइजूलाई क्यान्सर भएकाले उनको उपचारका लागि बिना लैजान लागेको बताएका थिए । कसले दियो भन्ने प्रश्नमा हिमालय जाभामा भेट भएका एक व्यक्तिले दिएको, तर नाम थाहा नभएको बताए ।

अनुसन्धानमा आबद्ध अधिकारीहरूका अनुसार पक्राउ परेका कोरियन नागरिक जुन गिरोहका मध्यतहका व्यक्ति हुन् । मुख्य नाइके कोरियामै रहेको अनुसन्धान अधिकृत अशोक पराजुलीले बताए । हान उक ली नामक व्यक्ति गिरोहका नाइके हुन् । उनी पनि १५ पटकसम्म नेपाल आएको अध्यागमनको रेकर्डबाट देखिएको छ । ‘दुवैजना कोरियन केही पटक सँगै नेपाल आएको पनि देखिन्छ,’ पराजुलीले भने, ‘वन्यजन्तुका अखेटोपहार तस्करीको धन्दामा उनीहरू यसरी पटक–पटक नेपाल आएको हुन सक्ने हाम्रो आकलन छ ।’

कोरियामा रहेका ली त्यहाँ आयुर्वेदिक औषधिको व्यापारी भएको सूचना अनुसन्धान अधिकारीहरूले पाएका छन् । औषधोपचारकै लागि उनले नेपालबाट वर्षाैँदेखि कस्तुरीको बिना तस्करी गर्दै आएको नेपालमा पक्राउ परेका उनका सहयोगीले खुलाएका छन् ।

यद्यपि, यसको पुष्टि हुन सकेको छैन । औषधि तथा महँगा अत्तर बनाउन बिनाको तस्करी हुने गरेको अनुसन्धानले देखाएका छन् । कोरियामा रहेका लीमाथि कानुनी कारबाहीका लागि प्रहरीले इन्टरपोलसँग सहकार्य अघि बढाएको छ ।

उनलाई पनि फरार अभियुक्तका रूपमा जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । प्रहरीले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २० अनुसार १५ वर्षसम्म कैद र १० लाखसम्म जरिवानाको सजाय मागदाबीसहित मुद्दा चलाएको छ । संगठित किसिमको अन्तर्राष्ट्रिय गिरोह संलग्न देखिएका घटनामा यो ऐन आकर्षित हुन्छ ।