NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

लडाकु कमाण्डरको दुःखान्त : छर्रा बोकेर साउदी गएका थिए, कफिनमा फर्किए

काठमाडौं ।  रुँदारुँदा उनका आँखा भासिएर गुफाजस्ता भएका थिए । शोक र भोकले अनुहार सुकेको थियो । ‘अब म कसरी बाँच्न्या होला !’ खैरो बाकस मंगलबार बिहान जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्क्यो, लक्ष्मी कार्की छाँद हालेर चिच्याइन्, ‘क्या दिन देख्नुपर्‍यो नि आज मैले ।’

बाकसभित्र चिर निद्रामा थिए उनका ४० वर्षीय पति तिलकबहादुर कार्की । कुनै समय माओवादीको सेक्सन कमान्डर भएर देशै बदल्ने सपना देख्थे उनी तर त्यो सपनाले कहिल्यै मूर्तरूप लिएन । देश त के, आफ्नै दुःखी जिन्दगीलाई पनि तिलकले बदल्न सकेनन् । माओवादी लडाकुका तत्कालीन सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रधानमन्त्री भइरहेका बेला उनकै एक कमान्डर भने कफिनमा ल्याइएका छन् ।

देशमा शान्ति आयो, अनेक राजनीतिक परिवर्तन भए तर जुम्ला तातोपानी–३ तिलाकोटका तिलक र उनीजस्ता भुइँमान्छेको जीवनमा त्यसले कुनै फरक पारेन । भूमिगत जीवनले बदल्न नसकेको आर्थिक अवस्थाका कारण युद्धकालमा पेटमा लागेको गोलीको छर्रा निकाल्नसमेत उनले सकेनन् । बुढा बाबुआमा, पत्नी, दुई छोरा र एक छोरीको एक्लो सहारा तिलक छर्राका कारण बेलाबेला दुख्ने पेट लिएरै गत वर्ष माघ ९ गते साउदी उडेका थिए । फलाम कम्पनीमा काम गर्ने उनी खाडीको गर्मीमा अहोरात्र खटिँदा महिनाको ३५ हजार रुपैयाँ पाउँथे । साउदी जान लागेको तीन लाख ऋण र त्यसको ब्याज तिर्नुका साथै परिवारको दैनिक खर्च पुर्‍याउनै उनलाई हम्मे थियो । कुनै दिन भाग्य फिर्ला भन्ने विचारले उनी काममा खटिइरहेकै थिए ।

‘बाबु, घरतिर ख्याल राख्या है,’ १७ वर्षीय छोरा पारसलाई उनी हरेक दिनजसो भिडियो कल गरेर सम्झाउँथे, ‘पढ्न नछाड्या, भाइबहिनीलाई माया गरिरहनू ।’ गएको पुस २७ गते दिउँसो पनि उनीहरूबीच यस्तै कुरा भएको थियो । त्यसको तीन घण्टापछि तिलक सुतेको सुत्यै भएछन् । गत वर्ष माघमा २४ प्रतिशत ब्याजमा तीन लाख ऋण काढेर तिलकसँगै उनका बडाबाका छोरा बखत कार्की पनि साउदी उडेका थिए । दुवै एउटै कम्पनीमा काम गर्थे, एउटै कोठामा सुत्थे । त्यस दिन पनि काम गरेपछि कोठामा आई सुतेका थिए । तर, तिलक भने फेरि कहिल्यै नब्युँझिने गरी निदाए ।

‘उहाँले भनेअनुसार ज्वाइँलाई हृदयाघात भएको हो अरे,’ तिलकका जेठान भक्तबहादुर रावलले सुनाए, ‘कुनै रोग पनि लागेको होइन, यसअघि केही भएको पनि थिएन, कसरी एक्कासि यस्तो भयो, बुझ्नै सकिरहेका छैनौं ।’

साउदीबाट शव कसरी झिकाउने भन्ने चिन्ताले कार्की परिवारलाई ज्यादा पिरोल्न थाल्यो । तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावल पारसकी माइजू हुन्, जसले काठमाडौं जान ३५ हजारमा गाडी रिजर्भ गरिन् । त्यसैमा चढेर लक्ष्मी, पारस, भक्तबहादुर, रेवती र अरू तीन आफन्त गरी सात जनाको टोली ३१ घण्टापछि काठमाडौं आइपुग्यो । सुन्धाराको एउटा होटलमा बसेर उनीहरूले भ्याएसम्मका ठाउँ गुहारे । जुम्लाबाट जितेका सांसद ज्ञानेन्द्र शाहीले केही गरिदेलान् भन्ने आस पारसलाई थियो । तर, शाहीलाई भेट्नै पाँच दिन लाग्यो । ‘भेटे पनि खासै काम हुन सकेन उहाँबाट,’ पारस भन्छन्, ‘कहाँ गएर कसलाई के भन्ने भन्ने भयो हामीलाई त ।’

माओवादीबाट समानुपातिक सांसद चुनिएकी जुम्लाकै ३० वर्षीया छिरिङ लामासँग कसैले कार्की परिवारलाई भेटाइदियो । छिरिङले पूर्वसभामुख कृष्णबहादुर महरालाई, महराले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई, उनले परराष्ट्र सचिव भरतराज पौडेललाई, सचिव पौडेलले काउन्सिलर विभागका निर्देशक प्रकाशमणि पौडेललाई र उनले साउदीका राजदूत नवराज सुवेदीलाई अनि सुवेदीले तिलक काम गर्ने कम्पनीका सञ्चालकलाई भनेपछि कतार एयरवेजबाट काठमाडौंसम्म शव झिकाउँदा निकै दौडधुप गर्नुपर्‍यो । ११ दिनसम्म काठमाडौं बस्दा डेढ लाख खर्च भएको पारस बताउँछन् ।

पहिलो पटक काठमाडौं टेकेका १७ वर्षीय पारस र उनकी ३५ वर्षीया आमा लक्ष्मी मंगलबार बिहानै सुन्धाराबाट विमानस्थल पुगेका थिए आफन्त र शुभेच्छुकका साथ । उनीहरूलाई ढाडस दिन साथै उभिएकी थिइन् सांसद लामा, जसले बाटाखर्चका लागि केही रकम पनि लक्ष्मीका हातमा राखिदिइन् । नेपाल एयरलाइन्स कार्गो शाखाका अधिकृत सन्तोष खड्काले लक्ष्मीको सहीछाप गराएर शव बुझाएपछि उनीसहित आफन्तको रुवाबासी सुरु भयो । तर, धेरैबेर बिलौना गर्ने समय विमानस्थल प्रशासनले दिएन । किनभने, कतारदेखि मलेसियासम्मका अरू ७ युवा पनि त्यसैबेला तिलकझैं कफिनमा स्वदेश फिरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।