NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बजारमा मैदा/आँटाको चरम अभाव, देशभरका ८० प्रतिशत मैदा उद्योग बन्द हुने अवस्थामा

काठमाडाैं । नेपाल मैदा उद्योग संघले बजारमा मैदा/आँटाको चरम अभाव भएको जनाएको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संघले भारत सरकारले गत बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव भएको जनाएको हो ।

मैदा/आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी/नान, भोजनालय, रेष्टुरेण्टलगायत ठुला–साना सबै होटललाई माग अनुसारको मैदा/आँटा मैदाउद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएको संघको भनाइ छ । संघका अनुसार यस्तो परिस्थितिमा बजारमा मैदा/आँटा कसरी उपलब्ध गराउने भनी मैदा व्यवसायी चिन्तित अवस्थामा छन् ।

पछिल्लो समय आम उपभोक्ताले दैनिक खाद्यान्नको रुपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएकोले यसले उपभोक्ता समेत प्रत्यक्ष प्रभाव पर्ने देखिएको संघले जनाएको छ ।

साथै भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मुल्यमा गहुँ खरिद गरिरहेको हँंदा मैदा÷आँटाको मुल्य बढिरहेकाले उपभोक्तालगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको जानकारी सरकारलाई संघले दिँदै आएको छ ।

‘अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्थामा छ । मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्था नै छैन । योे विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिन्छ,’ संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मैदा उद्योग कृषिमा आधारित उद्योग मध्य नेपालमा आत्मनिर्भर भईसकेको उद्योग हो । भारत सरकारसँग कुरा गरी चाँडो भन्दा चाँडो थप गहुँ उपलब्ध गराईदिन संघले सरकारलाई अनुरोध गरेको छ ।

संघका अनुसार अहिले प्राप्त पचास हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्छ, त्यस पश्चात फेरी हाहाकार मच्चिन सक्छ । नेपालमा गहुँको सिजन आउन अझ ३ महिना बाँकी छ ।

भारत सरकारले दिएको पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउनुपर्ने संघले जनाएको छ । बाँकी ३ महिनाको लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ ।