NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बालेनविरुद्ध माइतीघरमा आज प्रदर्शन हुँदै

काठमाडौं । रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा जनसागर उत्रिएको भोलिपल्ट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।

निजी जग्गामा डोजर चलाउने काठमाडौं महानगरपालिकाको कदमको विरोधमा मेयर शाहविरुद्ध आइतबार दिउँसो २ बजे विरोध प्रदर्शन हुने भएको हो । मेयर साहले महानगरपालिकाको नेतृत्व लिएपछि नक्सापासबिना अनधिकृत ढंगले बनाइएका संरचना हटाउने अभियान सञ्चालन गर्दै आएका छन् । केही समयअघि महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने प्रयास गरेको थियो । जुन चौतर्फी विरोधपछि अहिले स्थगित छ ।

उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिको नेतृत्वमा आइतबार बालेनविरुद्ध प्रदर्शन हुने भएको हो । यो समितिका संयोजक सुमन सायमी हुन् । उनी गत स्थानीय तह निर्वाचनमा बालेनका प्रत्यासी थिए ।

सायमीले सडक विस्तारका नाममा बिना अध्ययन, अनुसन्धान डोजर चलाएर सहरी सुव्यवस्थामा खलल पार्ने काम महानगरबाट भएकाले मेयर बालेनविरुद्ध प्रदर्शन गर्न लागिएको जानकारी दिए ।

स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजयी बनेका बालेनको कार्यशैलीलाई लिएर अनेक प्रश्न उठ्न थालेका छन् । खासगरी लहडका भरमा बिनाअध्ययन काम गर्ने गरेको र जवाफदेहिताबाट पन्छिएको आरोप उनीमाथि छ । तीव्र आलोचना खेपे पनि उनीविरुद्ध संस्थागत विरोध प्रदर्शन हुन लागेको भने पहिलो पटक हो ।