NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

को हन् आज नेपाल आउन लागेकी अमेरिकी पाहुना समान्था पावर ?

काठमाडौं । अमेरिकी नियोग युएसएआईडीकी प्रमुख सामान्था पावर आज नेपाल आउँदै छिन्।

नयाँ सरकार गठनपछि नेपालमा हुन लागेको यो उच्च तहको भ्रमण हो । उनलाई क्याबिनेट स्तरकै उच्च अधिकारी मानिन्छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिष्दकी सदस्यसमेत रहेकी उनले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), उपप्रधान तथा अथमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौडेलसँग भेट्ने कार्यक्रा छ ।

युएसएआइडीकी १९ औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ मा पदभार ग्रहण गरेकी पावर अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की सदस्य हुने प्रथम युएसएआइडी प्रशासक हुन् ।

बाइडेन–ह्यारिस प्रशासनमा सामेल हुनुअघि पावर हार्भर्ड केनेडी महाविद्यालयमा विश्वव्यापी नेतृत्व तथा सार्वजनिक नीति विषयकी एना लिन्द प्राध्यापक र हार्भर्ड कानुन महाविद्यालयमा मानव अधिकार अभ्यास विषयकी विलियम डी. जाबेल प्राध्यापक थिइन् । सन् २०१३ देखि २०१७ सम्म पावर संयुक्त राष्ट्र सङ्घका लागि २८ औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा ओबामा–बाइडेन प्रशासनमा सेवारत थिइन् ।

राष्ट्र सङ्घमा आफ्नो कार्यकालको क्रममा पावरले इबोला महामारीविरुद्ध लड्न, पेरिस जलवायु सम्झौता अनुमोदन गर्न र आइएसआइएसको वित्तीय सञ्जाल कमजोर पार्ने नयाँ अन्तर्राष्ट्रिय कानुन विकास गर्न देशहरूलाई एकजुट गरेकी थिइन् ।

पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिकी विशेष सहायकका रूपमा कार्यरत थिइन् । त्यस्तै, उनी बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन् ।

राष्ट्रिय सुरक्षा परिषद्मा रहँदा उनले लोकतन्त्र प्रवर्द्धन, संयुक्त राष्ट्र सङ्घको सुधार, तेस्रो लिङ्गी तथा महिलाका अधिकार, अत्याचार रोकथाम र मानव बेचबिखन तथा विश्वव्यापी भ्रष्टाचार विरुद्धका लडाइजस्ता मुद्दाहरूमा ओबामा–बाइडेन प्रशासनलाई परामर्शसमेत प्रदान गरेकी थिइन्।