NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

माओवादी केन्द्रले कुन–कुन पार्टीसँग एकता गर्दैछ ?

काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रले वामपन्थी दलहरूबीच एकताका लागि निर्णय लिन स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको छ ।

बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा १३ पुसमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले नेकपा(एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा, बाबुराम नेतृत्वको नेपाल समाजवादी र गोपाल किराँती नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकताका लागि पहल भइरहेको माओवादी वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार विप्लवसँग प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकलम दहाल प्रचण्ड वार्तामा रहेका छन् । अन्य घटकसँग महराले विभिन्न चरणमा छलफल जारी राखेका छन् ।

‘हामीले जनयुद्ध दिवसको अवसरमा वामपन्थी एकता गर्ने गरी विभिन्न वामपन्थी घटकबीच छलफल र बहस गरेका थियौं । तर समकालिन राजनीति परिस्थिति, संघीय संसदको निर्वाचन, राष्ट्रपतिको निर्वाचन लगाय विषयका कारण पार्टी एकताको काममा ढिलाइ भएको हो’, उनले भने, ‘वामपन्थी एकताको विषयमा ठोस निर्णय लिन बैठक बोलाउने निर्णय भएको छ । सायद एकहप्ता भित्रमा बैठक बस्छ होला । सबैसँगको छलफलपश्चात् हामी सकारात्मक भएका छौं । केही समयमा खुशीको खबर सुन्न पाइन्छ ।’

यसअघि बसेको माओवादी केन्द्रको स्थायी कमिटीको भर्चुअल बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने सम्बन्धी राखेको राजनीतिक प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

‘विभिन्न घटकसँगको छलफलपछि पार्टीको नाम र झण्डा फेर्ने सम्बन्धमा अध्यक्षज्यूले राख्नु भएको प्रस्ताव बैठकले सर्वसम्मत रुपमा पारित गरिसकेको छ । पार्टी एकतापछि राजनीतिक कार्यदिशा, पार्टीको नाम, झण्डा, संगठनात्मक संरचना, पार्टीको नीति तथा कार्यक्रमबारे सबैपक्षसँग घनिभूत छलफल भएको छ । राजनीतिक र प्राविधिक विषयमा सहमति भएपछि पार्टीको बैठकले एकताको तिथि र मिति तया गर्नेछ’, नेपालवाचसँग पोखरेलले भने ।

वामपन्थी घटकबीच एकता भएपछि बनेको पार्टीको नाम नेकपा(समाजवादी) रहने गरी छलफल अगाडि बढीरहेको पोखरेलले बताए ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन भएलगत्तै माओवादी केन्द्र र नेकपा एसबीच पार्टी एकताका लागि कार्यदल गठन गरेका थिए । नेकपा एसबाट महासचिव डा. वेदुराम भुसालको नेतृत्वमा, उपमहासचिव द्वय प्रकाश ज्वाला र डा.गंगालाल तुलाधर रहेको तीन सदस्य कार्यदल गठन भएको थियो ।

जनयुद्ध दिवसको दिन पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वामपन्थी घटकहरूबीच छिट्टै एकता हुने जिकिर गरेका थिए ।