NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पेनाल्टी रोक्न खोज्दा गोलकिपरको मृत्यु !

काठमाडौं । पछिल्लो समय व्यावसायिकता पक्डिए पनि खासमा खेलहरू मनोरञ्जनका लागि खेलिन्छन् । तर यसरी खेलिने खेल कहिलेकाहीँ दुःखद् र पीडादायीसमेत हुँदारहेछन् । बेल्जियममा यस्तै पीडादायी घटना भएको छ । जसमा गोलकिपरले पेनाल्टी प्रहारका क्रममा आफ्नो जीवन गुमाएका छन् ।

गत शनिबार विंकेल स्पोर्टस बी फुटबल प्रतिस्पर्धामा उत्रिएको थियो । यो बेल्जियमको ‘बी’ डिभिजन टिम हो । उक्त खेलमा टिमले गोलकिपरका रूपमा मैदानमा उतारिएका थिए, अर्ने स्पिल । खेलको पहिलो हाफ राम्रैसँग चलिरहेको थियो । उनको टिमले विपक्षीमाथि २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा स्पिलको टिमका खेलाडीको गल्तीलाई रेफ्रीले नोटिस गर्दा विपक्षीले पेनाल्टी हान्ने मौका पाए । विपक्षी  बेस्ट्रोजेबेकेका खेलाडीलेले उक्त अवसर सदुपयोग गर्दै बल प्रहार गरे । उनले सो प्रहारलाई निस्तेज त पारे तर मैदानमा ढल्न पुगे ।

सिएनएनका अनुसार, खेल मैदानमा रहेका मेडिकल टिमबाट प्राथमिक उपचार गराएर उनलाई तत्काल अस्पताल लगिएको थियो । तर जीवन बचाउन भने चिकित्सक सफल भएनन् ।

दुर्लभमध्ये एक घटनामा ज्यान गुमाउने स्पिल २५ वर्षका थिए ।

रोचक कुरा त के भने, स्पिलका भाइ पनि सोही टिमका खेलाडी हुन् । तर उक्त खेलमा उनलाई भने टिमले बेञ्चमा राखेको थियो ।

घटनापछि विंकेल स्पोर्ट बीले दुःख व्यक्त गर्दै उनीप्रति श्रदाञ्जली र परिवारप्रति समवेदना प्रकट गरेको छ । विज्ञप्तिमा उसले स्पिलको निधनबाट फुटबलमा ठूलो क्षति पुगेको पनि उल्लेख गरेको छ ।

उनको निधनपछि हजारौं फुटबल खेलप्रेमीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।