NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

विदेशको कमाइले स्वदेशमा उद्यमी

मोरङ। मोरङ बेलबारी नगरपालिका-९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन् । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उनी च्याउ उत्पादनमा लागेका छन् ।

विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै करिब ५० लाख रूपैयाँ आम्दानीको लक्ष्य लिएका छन् । तीन वर्ष मलेसिया बस्दा कमाएको करिब एक लाख ५० हजार लगानी गरी उनले मेहनती मसरुम कृषि फर्म सुरु गरेका थिए । हाल कम्पनीमा एक करोड रूपैयाँभन्दा बढी लगानी भइसकेको उनको भनाइ छ ।

तीन कठ्ठा क्षेत्रफलमा तीन वटा प्लाष्टिकका टनेलमार्फत सुरु गरिएको च्याउखेती हाल हाल चार वटा पक्कि घर बनिसकेका छन् भने थप तीन वटा बन्ने क्रममा छन् । च्याउ उत्पादन हुने पक्कि घर ५० फिट लम्बाई र २२ फिट चौडाइका छन् । एउटा घरमा एक हजार दुई सय ६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ ।

वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिव १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी  छ । गर्मीभन्दा भन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उनले हाल दैनिक नौ सय किलोसम्म उत्पादन भएको जानकारी दिए ।

उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ । हाल थोकमा रू एक सय ५० का दरले च्याउ बिक्री भइरहेको उहाँले जानकारी दिए । उत्पादन गरिएको च्याउ हरेक विहान ४ बजेसम्म इटहरी पु-याई सक्नुपर्ने र ७ बजे सम्ममा बिराटनगर र धरानसम्म पु-याई सक्नुपर्ने हुन्छ ।

दैनिक रुपमा अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पु¥याउन समस्या हुन थालेपछि अब आफै पिकअप भ्यान खरिद गर्ने योजना बनाएका छन् । उनले हाल फर्ममा स्थानीय पाँच जनालाई दैनिक ज्यालादारिमा रोजगारी दिइरहनुभएको छ भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाएका छन् ।

सुन्दरहरैचाको गछियास्थित बहिनी ज्वाँइ विजय सापकोटाले सञ्चालन गरेको च्याउ उद्योगबाट प्रभावित भएर सोही पेसा रोजेको बोगटीको भनाइ छ । सापकोटाले १० वटा घर निर्माण गरी च्याउ उत्पादन गरिरहेको थियो तर दुई वर्ष अघि उनको फर्म आगलागीबाट जलेर नष्ट भएको थियो । हाल उहाँ काठमाडौँस्थित च्याउको विउ उत्पादन गर्ने ल्याव सञ्चालन गरिरहेका छन् ।

विवेक वोगटीले पनि सोही ल्यावबाट कन्ये जातको च्याउको विउ लिइरहेका छन् । दुई  वर्षअघि डल्ले च्याउ उत्पादन टनेल निर्माण गर्न भनेर प्रदेश १ सरकारले २० लाख अनुदान दिएको उहाँले सुनाए । डल्ले च्याउ राम्रो उत्पादन नभएपछि अहिले लगाउन छोडेको उनी बताउछन् ।

‘बैदेशिक रोजगारी छाडेर उद्यमी बन्न चाहने युवालाई बैंकहरुले सरल कर्जा दिन्छ भन्ने सुनेर बिराटचोकस्थित कृषि विकास वैंकमा पटक–पटक जाँदा पनि बैंकले कुनै वास्ता गरेन, त्यसपछि जानै छाडे,’ उनले गुनासो गरे ।