NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सबैले अपनत्व लिने र समय सापेक्ष परराष्ट्र नीति बनाउँछौं– मन्त्री पौड्याल

सगरमाथा संवाद थप परिमार्जनसहित सुर गरिने

काठमाडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले नेपालको परराष्ट्र नीति २०७७लाई समय सापेक्ष र सबैले अपनत्व लिने किसिमको बनाइने आश्वासन दिएकी छन् ।

आज नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको सार्वजनिक नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौड्यालले यस्तो बताएकी हुन् ।

आफू मन्त्रीको रूपमा आउँदा नेपालको परराष्ट्र नीति प्रकाशन नभइसकेको र सबैले अपनत्व पनि नलिएको पाएपछि यसबारे थप अध्ययन अनुसन्धान गर्न प्रतिष्ठानलाई सिफारिस गरेको उनले बताइन् ।

सरकार परिवर्तनसँँगै मन्त्री फेरिएपनि परराष्ट्र नीति संविधानद्वारा निर्देशित हुँदा त्यसको परिवर्तन नहुने तर भएकै नीतिलाई समय सापेक्ष बनाइने उनको तर्क थियो ।

‘अहिलेको बद्लिदों भू राजनीतिक अवस्थाका कारण हाम्रो परराष्ट्र नीतिमा केही परिमार्जन गर्नुपर्छ कि भन्ने लाग्यो र यसमाथि सबैको अपनत्व हुने बनाउनका लागि यो आवश्यक थियो,’ उनले भनिन्, ‘नीतिका प्राथामिकता परिवर्तन हुन्छन् तर नीति पूर्ण रूपमा परिवर्तन हुँदैन । हामीले पनि भएको नीतिलाई समय सापेक्ष बनाउँदै र अपनत्व लिँदै अघि बढ्ने कोसिस गर्छौं ।’

नेपाललाई चिनाउनका लागि अन्तर्राष्ट्रिय फोरममा सुरू गरिएको सगरमाथा संवाद अहिले बन्द भएको छ । विगतमा कोरोना महामारीका कारण यो संवाद बन्द गर्नुपरेको र त्यसपछिको सरकारले निरन्तरता दिन नसकेको बताउँदै उक्त संवादलाई थप परिमार्जन गरेर सुरू गर्ने तयारी भएको उनले जानकारी दिइन् ।

‘यसलाई हामी नियमित बनाउने छौं । यसपाली हामीले जलवायुपरिवर्तनको कुरा गरौंला, दुई वर्षपछि हाम्रो शान्ति प्रक्रियाका बारेमा कुरा गरौंला,’ उनले भनिन्, ‘नेपालका राम्रा अभ्यासहरू र नेपाललले सिकेका अभ्यासहरू विश्वलाई चिनाउने र नेपालको कुटनीतिलाई पनि विश्वमा विस्तार गर्ने किसिमको फोरमको रूपमा अघि बढाउन चाहन्छौं । यसबारे गृहकार्य भइरहेको छ ।’

छलफलमा सहभागी राजनीतिक दलका सदस्य, पूर्व राजदूत तथा विषय विज्ञलगायतले नेपालको परराष्ट्र नीतिमा गर्नुपर्ने सुधार, रणनीतिक सुधार, संस्थागत विकास, क्षमता विकासलगायतका विषय उठान गरेका थिए ।

प्रतिष्ठानले संवादमा उठेका सबै विषयलाई मध्यनजर गरेर सरकारलाई अनुसन्धानमा आधारित नीतिगत सुझाव दिनेछ ।