NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

राप्रपाका मन्त्रीहरुले राजीनामा बुझाए, तर सरकारको समर्थन कायमै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । राप्रपाका मन्त्रीहरुले शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिए ।

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट हट्ने निर्णय लिएको थियो ।

राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषदमा सहभागी राप्रपा मन्त्रीहरुले शनिबार दिउँसो राजीनामा बुझाएका हुन् ।

शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

राप्रपाबाट मन्त्रिपरिषदमा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका थिए । त्यस्तै नेता दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री थिए ।