NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ओली–प्रचण्ड समीकरण भत्किएपछि कहाँ–कहाँ पुग्दैछ एमालेलाई क्षति ?

काठमाडौं । सत्ता समीकरण बनाएको तीन महिना नपुग्दै प्रचण्ड–ओलीको सम्बन्धमा ‘ब्रेक’ लागेपछि एमालेलाई ठूलो क्षति पुग्ने देखिएको छ ।

शुक्रबार माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग भएकाे पूर्वसहमति तोड्दै पुरानो गठबन्धन ब्युँताएपछि संघदेखि प्रदेशसम्मका सबै समीकरण भत्किने देखिएको छ ।कांग्रेस, माओवादीसहित ८ दलको समर्थनमा शनिबार नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवारी दर्ता गरिसकेका छन् ।

यद्यपि, शनिबार बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनसम्म सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । आफ्ना मन्त्रीहरूलाई समेत फिर्ता बोलाएको छैन । २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनपछि मात्र थप राजनीतिक निर्णय लिने एमालेले रणनीति छ । सरकारमा सहभागी सात दलमध्ये राप्रपाले आफ्ना मन्त्रीहरू फिर्ता बोलाइसकेको छ । सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ ।

यसअघि नै आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राखेको छ । सत्ता साझेदार साना दल जसपा, जपा र नाउपाले ओलीसँगको समीकरण तोड्दै कांग्रेसको उम्मेदवारलाई समर्थन गरेको छ । यसहिसाबले संसदको अंकगणितमा निकै कमजोर रहेको एमालेले अबको रणनीति कस्तो बनाउँछ भन्नेमा सबैको चासो रहेको छ ।

राष्ट्रपतिको निर्वाचनमा पूर्वसभामुख एवं उपाध्यक्ष सुवास नेम्वाङलाई अघि सारेका ओलीले माओवादीको समेत समर्थन पाउने आशा जिवितै राखेका छन् । तर त्यो सम्भावना सकिएको कांग्रेस र माओवादीका नेताहरूले बताएका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाएर प्रतिनिधिसभाको सभामुखसहित महत्वपूर्ण मन्त्रालय हात पारेका ओलीले सरकारको ‘किङ मेकर’को भुमिकामा रहेर राष्ट्रपति हात पार्ने दाउमा थिए । तर तीन महिना नपुग्दै सत्ता समीकरण बदलिएपछि एमालेले ठूलो क्षति व्यहोर्ने देखिन्छ ।

सरकारबाट एमालेको बर्हिगमन

सत्ता राजनीतिमा २५ फागुनसम्म कुनै नाटकीय फेरबदल नआए राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार पौडेल विजयी हुने सम्भावना बलियो छ । ओलीकै भाषामा कांग्रेसले थापेको ‘ढोक्सा’मा माछा पार्न सफल हुने देखिन्छ । ओलीकै रणनीतिका कारण सत्ताबाट किनारा लागेको कांग्रेसको सत्ता पुनारावृत्ति भएको छ भने एमाले सत्ताको किनारामा पुग्ने देखिन्छ । सत्ता समीकरण बदलिएपछि नैतिक संकटमा रहेका ओलीले राष्ट्रपतिको निर्वाचनपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार पराजय भएमा सरकारबाट बाहिरिने लगभग पक्का छ । एमाले सरकारबाट बाहिरिएपछि ८ दलबीच सत्ता सहकार्य गर्ने सहमति भइसकेको छ ।

राष्ट्रपति–उपराष्ट्रपति गुमाउने

प्रचण्डलाई प्रधानमन्त्री बनाएर सभामुखसहित महत्वपूर्ण मन्त्रालय हात पारेको एमालेले समीकरण भत्किएपछि राष्ट्रपति र उपराष्ट्रपति गुमानउने छ । अघिल्लो पटक राष्ट्रपति आफ्नै भएकाले प्रचण्ड–देउवालाई निकै दबाबमा राखेका थिए । माओवादीको समर्थनमा सभामुख पाएको एमालेले प्रधानमन्त्रीले समीकरण भत्काएपछि एमालेले राष्ट्रपति गुमाउने सम्भावना बलियो हुँदै गएको छ ।

सातै प्रदेशमा एमाले प्रतिपक्ष

एमाले र माओवादीबीच भएको प्रदेश भागबण्डामा सात प्रदेशमध्ये एमालेले प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश हात पारेको थियो । तर सुदूरपश्चिमा एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसक्दा सरकार ढल्यो । यद्यपि अन्य प्रदेशमा एमालेको बलियो उपस्थिति रहेको छ । ओली–प्रचण्ड समीकरण भत्किएपछि सबै प्रदेशमा एमालेले सरकार गुमाउने जोखिम उच्च छ ।

राष्ट्रिय सभा अध्यक्ष गुमाउने

एमालेबाट राष्ट्रसभाका अध्यक्ष निर्वाचित भएका गणेश तिमिल्सिनाको ६ वर्षे कार्याकाल अर्को वर्ष सकिँदै छ । शुक्रबार बालुवाटारमा भएको सहमति अनुसार राष्ट्रपति कांग्रेस, उपराष्ट्रपति जसपा र राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने भएका छन् । अर्को वर्षसम्म वर्तमान समीकरण कायमै रहेमा एमालेले अध्यक्ष पद गुमाउने देखिन्छ । प्रतिनिधिसभा र स्थानीय तहमा २०७४ को तुलनामा एमालेको बलियो उपस्थिति नरहेकाले राष्ट्रिय सभामा एमालेलाई ठूलो क्षति पुग्न देखिन्छ ।

त्यस्तै सत्ता समीकरण भत्किएपछि एमालेले संवैधानिक निकाय, कुटनैतिक नियोगजस्ता निकायमा एमालेले क्षति व्यहोर्नुपर्ने देखिन्छ । सरकर जसको हातमा हुन्छ, नियुक्त उसैले गर्ने हुँदा राज्यका हरेक निकायबाट एमाले बाहिरिनेछ । नियुक्ती, सरुवा–बढुवामा सत्ता पक्ष हाबी हुने हुँदा एमाले सबै ठाउँमा अप्ठ्यारोमा पर्न सक्छ ।