NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

‘सहकारीका समस्या समाधान गर्न सदस्यसंगै हातेमालो गरौ’

काठमाडाैं । गण्डकी प्रदेशसभाका उप–सभामुख बिना कुमारी थापाले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सदस्य केन्द्रीत अभियान थप प्रभावकारी बनाउन सहकारीकर्मीहरुलाई आव्हान गरेकी छिन् ।

बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङले राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा सञ्चालन गरेको सवल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयक एक दिने गोष्ठीको शनिवार बागलुङमा उद्घाटन पछि बोल्दै उनले यस्तो बताएकी हुन् ।

सहकारी सदस्यहरुको हो, सहकारीलाई संकटमा जोगाउने जिम्मेवारी पनि सदस्यकै हो, सदस्यलाई सहकारीको समस्या र समाधानका उपायका बारेमा निरन्तर जानकारी दिन सकेमा मात्रे सहकारीलाई जोगाउन सकिन्छ, उपसभामुख थापाले भनिन्, ‘सहकारीलाई सञ्चालन गर्ने, प्रवद्र्धन गर्ने र संकटमा जोगाउनका लागि सदस्यको भूमिका नै सबैभन्दा महत्वपूर्ण र प्रभावकारी हुने गर्दछ ।’

सहकारीमा सुशासन कायम गर्नका लागि सहकारी ऐन कानुनको पालना, कार्यविधि बनाएर नीतिगतरुपमा संस्था सञ्चालन गराउन आग्रह गर्दै उनले राज्यका तर्फबाट सहकारी प्रवद्र्धनका लागि गर्नु पर्ने विषयमा समन्वय गर्न सुझाव दिइन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अधिकृत राज कुमार बरालले सबल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयमा सहजीकरण गरेका थिए ।