NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रधानमन्त्रीसँग जवानको गुनासो : राम्रो खाना खान अधिकृत नै हुनुपर्ने ?

आर्थिक चलखेल गरेर गुणस्तरहीन खाना खुवाएको भन्दै उजुरी

काठमाडौं । नेपाल सरकारले प्रहरी कार्यालयमा रासन स्केलको दर दर्जागत रूपमा फरक–फरक गरेको छैन । तर एउटै संगठनभित्रका प्रहरीलाई दिइने खानेकुरा भने फरक भएको भन्दै उजुरी परेको छ ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरका प्रमुख प्रहरी सहायक निरीक्षक हर्क बहादुर कुँवर, प्रशासन शाखाका प्रहरी नायब निरीक्षक युवराज थापा, सुवेदार मेजर प्रहरी नायब निरिक्षक राजु स्वर्णकार, सहायक निरिक्षक हरि कार्की, सहयोगी राजुमार थापाविरूद्ध प्रधानमन्त्रीको सचिवालयमा उजुरी परेको हो ।

उनीहरूको संलग्नतामा प्रहरी मेशलाई आर्थिक संकलनको केन्द्र बनाएर गुणस्तरहीन खाना खुवाउने गरेको आरोप छ । प्रहरी मेशको चरम आर्थिक अनियमितता गर्दै गुणस्तरहीन खाना खुवाउँदा प्रहरी कर्मचारीको व्यवसायिकताप्रतिको मानसिकतामा असर परेको भन्दै उजुरी परेको हो ।

मेशमाथि भएको अनियमितताका कारण प्रहरी कार्यालयमा दिइने खानामा पनि चरम भेदभाव भएको जनाइएको छ ।

‘के प्रहरी कार्यालयमा राम्रो खाना खान प्रहरी अधिकृत भएर मात्र आउनुपर्ने हो ? संगठन भित्र लाएको जनशक्ति भनेको अधिकृतमाधै हो भने प्रहरी जवानमा आवेदन किन लिइन्छ ?,’ उजुरीमा उल्लेख छ । तल्लो तहका प्रहरी जवानलाई संगठनको जग भनिएपनि व्यवहारमा लागू नभएको र प्रहरी जवान मेश आर्थिक संकलनको केन्द्र भएको भन्दै प्रश्न उठाइएको छ ।

खानामा पनि भेदभावपूर्ण व्यवहारले प्रहरी जवानको ‘मोरेल’ घट्दै गएको र व्यवसायिकतामाथिको संकल्प बलियो हुन नसकेको गुनासो छ । यस्तो अवस्थामा काम गर्दा दीर्घकालिन रूपमा पूरा प्रहरी संगठनलाई नै असर पर्ने हुँदा प्रहरी जनशक्ति पलायन हुने चुनौती पनि रहेको जनाइएको छ ।