NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

टिपरले लियो पत्रकारसहित २ जनाको ज्यान, अर्का १ घाइते

साँखुमा दुर्घटना गराएर भागेका चालक सिन्धुपाल्चोकमा पक्राउ

काठमाडौं । काठमाडौंमा गएराति टिपरले एक पत्रकारसहित दुई जनाको ज्यान लिएको छ । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट पत्रकार पवनलाल श्रेष्ठ र हरि खड्काको निधन भएको हो ।

मृतक श्रेष्ठ साँखुबाट प्रकाशित लावण्य सन्देश साप्ताहिकका प्रधानसम्पादक हुन् । उनी नेपाल प्रेस युनियन साँखु शाखाका संस्थापक अध्यक्षसमेत थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले गएराति साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा९४प ४४९८ र बा८२प ८३५७ नम्बरको मोटरसाइकलको ठक्करबाट मोटरसाइकलमा सवार श्रेष्ठ र खड्काको मृत्यु भएको जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते श्रेष्ठलाई उद्धार गरेर नेपाल मेडिकल कलेज अत्तरखेलमा र खड्कालाई शङ्करापुर अस्पताल साँखुमा लगिएको थियो । त्यही उपचारका क्रममा गएराति उनीहरूको मृत्यु भएको हो ।

शङ्खरापुर नगरपालिका–७ साँखुका पत्रकार श्रेष्ठ ५० र सोही नगरपालिकाको वडा नं. ९ का खड्का २२ वर्षका थिए ।

सोही दुर्घटनामा २० वर्षीया पुनम श्रेष्ठ घाइते भएकी छिन । उनको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रवक्ता रिजालले बताए ।

दुर्घटनापछि फरार टिपर चालक २६ वर्षीय दिनेश तामाङलाई प्रहरीले राति नै सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको प्रवक्ता रिजालले बताए ।