NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ चैत १५ गते

शिक्षा बहस : गुणस्तरीय शिक्षा प्रदान गर्न कहाँ चुके सार्वजनिक विद्यालय ?

 हिमालमा जडिबुटी र तराईमा खेतीसम्बन्धी पाठ्यक्रम किन नबनाउने ?

नेपालमा २८ हजार सार्वजनिक विद्यालय सञ्चालनमा छन् । यति धेरै विद्यालय सञ्चालनमा रहे पनि गुणस्तरीय शिक्षा दिने औंलामा गन्न सकिने मात्रै छन् । यसरी उदाहरण पेश गर्न सकिनेमध्येमा पर्छ त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय ।

उदाहरणीय यो विद्यालयले लगातार दुई पटक उकृष्ट सामुदायिक विद्यालयको पुरस्कार पोल्टामा पारिसकेको छ । यो विद्यालयले ०७४ र ०७५ सालमा लगातार दुई पटक राष्ट्रिय पुरस्कार हासिल गरेको हो । ०५८, ०६२ र ०६५ मा पनि विद्यालयले क्षेत्रीय पुरस्कार प्राप्त गरेको थियो ।

यसरी राम्रो विद्यालयको सूचीमा पर्न सकिने सूत्र के होला ? विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल विद्यालय राम्रो हुन सबैभन्दा पहिले शिक्षकले शिक्षकको जस्तो भूमिका निर्वाह गर्नुपर्ने बताउँछन् ।

व्यक्तिले आफूलाई तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निभाउने हो भने हरेक क्षेत्र बुलन्द हुने उनको बुझाइ छ । दोस्रो, शिक्षकहरूले आफूले पढाउने सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पनि भर्ना गर्ने आँट गर्नुपर्नेमा उनले जोड दिए । ‘विद्यालयमा गुणस्तरीय शिक्षा छ भने प्रचार गर्ने तर आफ्ना बच्चा चाहीं महंगो निजी विद्यालयमा पढाउने हो भने किन विश्वास गर्ने ?,’ उनले भने ।

कँडेलका अनुसार उनीसहित विद्यालयका ९० प्रतिशतभन्दा बढी शिक्षकले आफ्ना बालबच्चालाई विश्व निकेतनमै पढाउँछन् । कसैलाई बाध्य बनाएर भर्ना गर्न लगाउने भन्दा पनि शिक्षकहरूले स्वतःस्फूर्त रूपमै आफ्ना बच्चा विश्व निकेतनमा पढाउने गरेको उनको दाबी छ ।

तेस्रो, विद्यालय व्यवस्थापनले आफ्ना मान्छे भर्तीकेन्द्र बनाउनबाट मुक्त हुनुपर्ने र चौथोमा तीनै तहका सरकारसँग विद्यालयले सुमधुर सम्बन्ध राखेर सहयोग लिन सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । यति गर्ने हो भने प्रधानाध्यापकले चाहेमा विद्यालयको कुशल नेतृत्व गरी राम्रो विकास गर्न सक्ने उनको बुझाइ छ ।

अरूलाई मात्रै काम अह्राउने र आफू भने निहुँ बनाएर बाहिर निस्किने प्रधानाध्यापकको प्रवृत्तिले पनि सामुदायिक विद्यालयको विकासमा तगारो हालेको उनको बुझाइ छ । ‘प्रधानाध्यापकले विद्यालयलाई समय दिनुपर्छ,’ उनले भने, ‘आफूचाहिँ सानो निहुँ पारेर बाहिर निस्किहाल्ने र अरूलाई नवीन ढाँचामा पढाउनुस् भनेर काम लगाउन सकिँदैन ।’

प्रधानाध्यापकले चाहेको खण्डमा विद्यालयलाई उम्दा बनाउन सकिने र यस्ता उदाहरण यत्रतत्र प्रशस्त रहेको उनले बताए । प्रधानाध्यापकले आफूलाई हाकिम भन्दा पनि सेवकको ठान्नुपर्ने कँडेल सुनाउँछन् । उनका अनुसार, यसअनुरूप प्रधानाध्यापकले व्यवहार र प्रणाली विकास गर्ने हो भने अन्य कर्मचारी पनि कामतर्फ प्रोत्साहित हुन्छन् । कँडेल शिक्षकहरूमा उत्प्रेरणा जगाएर काम गर्न सक्ने परिस्थिति निर्माणमा औंल्याउँछन् ।

‘एउटा खेलाडीले पनि उच्च मनोबलका साथ मैदानम प्रवेश गर्यो भने गोल गर्न सक्छ,’ उनले भने, ‘निराश र उदास मनस्थितिका साथ ऊ मैदानमा गयो भने त केही गर्न सक्दैन नि ! शिक्षामा पनि दुरुस्त यही हो ।’

कँडेल हाम्रो पठनपाठनको विधिमा पनि उत्तिकै समस्या रहेको ठान्छन् । उनको विचारमा शिक्षकहरूले नवीनतम विधि अपनाएर पठनपाठन गर्न आवश्यक छ ।

अहिले डिग्री हासिल गरेकाले पनि जागिर नपाउने अवस्था छ । कँडेल यसलाई पाठ्यक्रम व्यावहारिक नहुँदाको दुस्परिणाम ठान्छन् । यो अवस्थामा सुधार ल्याउन पाठ्यक्रम समय सापेक्ष र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको बनाउनुपर्ने उनको भनाइ छ । उनको विचारमा पाठ्यक्रम देशको भूगोल र विशेषताअनुसार बनाउनु पर्छ । ‘हिमाली क्षेत्रमा जडिबुटी तथा पर्वतारोहणसम्बन्धी पाठ्यक्रम बनाउन सकिन्छ,’ उनले भने, ‘अन्नको भण्डार मानिने तराईमा खेतीसम्बन्धी स्थानीय पाठ्यक्रम बनाउन सकिन्छ ।’

तर यसका लागि सिंहदरबारको बन्द कोठाबाट बाहिर निस्किएर भूगोलको अध्ययनमा लाग्नुपर्ने कँडेलको सुझाव छ । उनका अनुसार, यसरी अध्ययन गरेर पाठ्यक्रम तयार पार्दा त्यो व्यावहारिक त बन्ने छ नै सामुदायिक विद्यालयलाई निजीसँग प्रतिस्पर्धा गर्न पनि बल पुग्ने छ । यति मात्रै होइन, निजी छोडेर सामुदायिक विद्यालयमा आफ्ना बालबच्चा पढाउनसमेत अभिभावक राजी हुनेछन् ।

कँडेलका अनुसार सामुदायिक विद्यालयका शिक्षक अपडेट नहुने समस्या छ । यस्ता विद्यालयका शिक्षकलाई समयअनुसार परिस्कृत बनाउन बेलाबेलामा तालिम प्रदान गर्न सकिने उपाय उनले सुझाए । यसरी तालिम प्राप्त गरेकाहरूमा हासिल गरेका ज्ञान अरूमा हस्तान्तरण नगर्ने समस्या रहेकाले त्यसलाई भने अन्त्य गर्नुपर्ने उनी बताउँछन् ।

शिक्षकहरूले पढाउनमा भन्दा सिकाउनमा जोड दिनुपर्ने खाँचो पनि उनले औंल्याए । ‘हामीले हरेक दिन पढाउनमा जोड दिन्छौं,’ उनले भने, ‘वास्तवमा पढाउनभन्दा पनि सिकाउनमा ध्यान दिनुपर्छ ।’

शिक्षक सधैं विद्यार्थीभन्दा एक कदम अघि हुनुपर्ने कँडेल बताउँछन् । यसलाई पुष्टि गर्नेगरी उनले एउटा घतलाग्दो प्रसंग जोडे । ‘शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ र शिक्षक दौडियो भने विद्यार्थी हिँडछ, शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ,’ उनले भने, ‘शिक्षक बस्यो भने विद्यार्थी सुत्छ र शिक्षक सुत्यो भने विद्यार्थी मर्छ ।’

सार्वजनिक विद्यालयसँग अहिले सीमित स्रोत छन् । तथापि, पाठ्यक्रमको ज्ञानलाई सकेसम्म सीपसँग जोड्न प्रयत्न गरिरहेको कँडेल सुनाउँछन् । सीपलाई उत्पादन, उत्पादनलाई रोजगारी र रोजगारीलाई समृद्धि एवं विकाससँग जोड्ने हो भने हरेक क्षेत्रमा रूपान्तरण हुने कँडेल बताउँछन् ।

विश्व निकेतनका धेरै विद्यार्थीहरू हरेक वर्षको एसईई परीक्षामा देशभरबाट उत्कृष्ट र विशिष्टकृत सूचीमा आउन सफल भइसकेका छन् । त्यहाँ अध्ययन गरेका विद्यार्थीहरू बजारमा प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा उत्रिएको देख्दा कँडेललाई लाग्छ, ‘हामीले पनि गुणस्तरीय शिक्षा दिएका रहेछौं ।’ विद्यालयका सबै सदस्य आफ्नो जिम्मेवारीप्रति कुशल भएकै कारण यो सफलता प्राप्त भएको उनको बुझाइ छ ।

फिनल्यान्ड, स्क्याडेभिया, नर्वेलगायत मुलुकमा शिक्षालाई सर्वोत्कृष्ट मानिन्छ । यस्ता मुलुकले शिक्षामा २० प्रतिशतभन्दा बढी बजेट छुट्याएका हुन्छन् । छिमेकी मुलुक भारतमै पनि शिक्षामा २५ प्रतिशत बजेट छुट्याइएको छ । यसले त्यहाँको शिक्षामा चामत्करिक उन्नति भइरहेको छ । शिक्षामा प्रशस्त बजेट छुट्याउने मुलुकमा सिंगापुर, दक्षिण कोरियालयातका देश पनि पर्छ । तर हाम्रोमा भने शिक्षामा लगानी गर्न कन्ज्युस्याइँ गरिएको उनको अनुभव छ । हुन पनि, सरकारले चालु आर्थिक वर्ष ०७९÷८० मा कुल बजेटको झण्डै १४ प्रतिशत मात्रै शिक्षामा विनियोजन गरिएको छ ।

कँडेल आगामी आर्थिक वर्षबाट यसलाई सुधारेर शिक्षामा प्राथमिकतापूर्वक बजेट छुट्याउनुपर्ने बताउँछन् । सरकारले आधारभूत तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरे पनि त्यसअनुसारको दरबन्दी व्यवस्था नभएकोमा उनी दुःखी छन् ।

‘सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या धेरै भए पनि विषयगत शिक्षकको दरबन्दी मिलान भएकै छैन । कतिपयमा अंग्रेजी शिक्षकले नै गणित, विज्ञान पढाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘अझ विद्यालयको भौतिक पूर्वाधार, मर्मत संहार तथा अन्य सुविधाका लागि बजेटको व्यवस्था गर्नु त परको कुरा !’

सरकारको तर्फबाट यस्ता समस्याको समाधान गरिदिने हो भने सामुदायिक विद्यालयले शिक्षाको गुणस्तर अझै सुधार्न सक्ने उनको विश्वास छ ।

नेपालवाच र किङ्स कलेजको संयुक्त प्रस्तुति एजुकेशन डायलगमा कँडेलसँग गरिएको भिडियो संवाद हेर्नुहोस्