NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

नवनिर्वाचित राष्ट्रपतिको तलब कति ?

काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । यसको लागि दिउँसो १ बजे विशेष समारोहको आयोजना हुने भएको छ ।

पात्रका हिसाबले तेस्रो र पदीय हैसियतले चौथो राष्ट्रपति चुनिएका पौडेलले अब मासिक एक लाख ५० हजार ४५० रूपैयाँ पारिश्रमिक पाउनेछन्। योसँगै उनले प्रतिवर्ष २५ हजार रूपैयाँ बराबरको पोसाक सुविधा पनि पाउनेछन् ।

त्यस्तै उपराष्ट्रपतिले मासिक रूपमा एक लाख ८ हजार ३० रूपैयाँ पारिश्रमकिसहित पोसाकका लागि वार्षिक २० हजार रूपैयाँ पाउने व्यवस्था छ ।

राष्ट्रपति र उपराष्ट्रपति द्वयलाई मासिक पारिश्रमिकवाहेक अन्य सेवा सुविधाको पनि व्यवस्था गरिएको छ ।

उनीहरू दुवैले स्वदेश भ्रमण गर्दा दैनिक ३३०० रूपैयाँ, विदेश भ्रमण गर्दा २५० अमेरिकी डलर पाउँछन् । यूरोपियन म्ल्कहरू, अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, यू.ए.ई, सिंगापुर, लेवानन, बहराइनको भ्रमण गर्दा तोकिएको दरमा ३३ प्रतिशत थप रकम दिने चलन छ ।

त्यसवाहेक सरकारद्वारा राष्ट्रपति र उपराष्ट्रपति द्वयको २५ लाख रूपैयाँ बराबरको बीमा गरिएको हुन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रामिक तथा सुविधा सम्बन्धी ऐन २०७४ मा यस्तो व्यवस्था गरिएको छ ।

त्यसवाहेक राष्ट्रपति र उपराष्ट्रपतिको आवासको लागि नेपाल सरकारबाट सरकारी घरको बन्दोबस्त गरिन्छ भने घरको मर्मत संभार पनि सरकारबाटै हुन्छ ।

घरको लागि अवश्यक फर्निचरको व्यवस्था पनि सरकार आफैंले उपलब्ध गराउँछ । उनीहरूलाई आवश्यक सवारी, इन्धन, मर्मत, टेलिफोन, कम्पुटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिकाको सुविधा पनि सरकारले व्यवस्था गर्छ ।

प्रत्येक महिना मासिक पारिश्रामिक बराबरको रकम अतिथि सत्कार तथा भैपरी खर्चबापत दिइने चलन छ । स्वास्थ्य सुरक्षाका लागि राष्ट्रपति र उपराष्ट्रपतिका लागि नेपाल सरकारले एक/एकजना निजी चिकित्सकको व्यवस्था गर्छ ।

उनीहरूको उपचार नेपालमा हुन नसक्ने अवस्थामा मेडिकल बोर्डको सिरफारिसमा विदेशमा गर्न सकिने व्यवस्था छ ।

कुरुवालाई कति भत्ता ?

राष्ट्रपति वा उपराष्ट्रपति अस्पताल भर्ना भएमा उनीहरूका कुरुवाले पनि भत्ता पाउँछन् । कुरुवा बसेबापत तीनजनाम्मको खर्च नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था छ । उपचार खर्चबापतको रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोे कार्यालयले राष्ट्रपति वा उपराष्ट्रपति भर्ना भएको अस्पताललाई भुक्तानी गर्छ ।

त्यस्तै चाडपर्वको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको भत्ता चाडपर्व खर्चको रूपमा पाउँछन् । सो रकम उनीहरूले एक आर्थिक वर्षमा एकपटकमात्रै लिन पाउँछन् ।

पदीय काममा विज्ञ कतिजना ?

राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो दैनिक पदीयक काममा विज्ञको सहयोगका लिन सक्नेछन् । त्यसका लागि उनीहरूले पाँचदेखि सातजना विज्ञ नियुक्त गर्न सक्ने प्रावधान छ । त्यस्तै उनीहरूले निजी सचिवालयका लागि कर्मचारी नियुक्त गर्न पाउनेछन् । सचिवालयमा प्रमुख स्वकीय सचिव, सह स्वकीय सचिव, उप स्वकीय सचिव, स्वकीय अधिकृत, कम्पुटर सहायक, फोटोग्राफर, प्रेस संयोजक, सवारी चालक र कार्यालय सहयोगी रहनेछन् ।उक्त कर्मचारी तथा सचिवालयलाई आवश्यक खर्चको जिम्मेवारी सरकारले व्यहोर्छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष