NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दुई महिना नपुग्दै लुम्बिनीमा गिरी सरकार गिराउने खेल सुरू

काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश सभा बैठक चैत ७ गते बस्ने भएको छ ।  प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचना निकालेर ७ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएका हुन्।

प्रदेश सभा बैठक आह्वान भएसँगै गिरी सरकार ढल्ने अनुमान गरिएको छ । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका गिरी २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर संघमा सत्ता समीकरण बदलिएसँगै गिरी सरकार धरापमा परेको हो । दुई महिना नपुग्दै लुम्बिनीमा गिरी सरकार गिराउने खेल सुरू भएकाे छ ।

त्यतिबेला मुख्यमन्त्री गिरीले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतले समर्थन गरेका थिए । संघमा ओली–प्रचण्ड समीकरण भत्किएपछि गिरी सरकारलाई समर्थन गरेका माओवादी केन्द्र, नाउपा, जसपा, जनमत पार्टी र लोसपाले साथ छोडिसकेका छन् । ५ माघमा उनले विश्वासको मत पाएका उनले ५७ मत प्राप्त गरेका थिए । उनको विपक्षमा २८ मत परेको थियो ।

८७ सदस्यीय प्रदेश सभा (प्रत्यक्ष ५२ समानुपातिक ३५)मा एमालेको मात्रै २९ सिट रहेको छ । कांग्रेसको २७, माओवादीको ९ र एसको एक सिट छ । बहुमतको सरकार बनाउन यो प्रदेशमा ४५ सिट आवश्यक पर्छ । माओवादीले समर्थन फिर्ता लिए लुम्बिनीमा एमाले सरकार ढल्नेछ । यो प्रदेशमा कांग्रेससहित नयाँ समीकरणमा ५३ सिट रहेको छ । लुम्बिनीमा नाउपाको ४, जसपाको ३, लोसपाको ३, राप्रपाको ४, जपाको ३, राजमो १ र स्वतन्त्रको ३ सिट छ ।

चैत ७ मा बस्ने बैठक अघि नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी लगायत सत्ता साझेदार दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

गिरी मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एमालेका पाँच जना, माओवादीका तीन जना, राप्रपा र जनमत पार्टीबाट एक÷एक जना मन्त्री छन्।