NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आगामी तीन दिन वर्षा हुने, चट्याङ र हुरीबतासको जोखिम पनि उत्तिकै

काठमाडौं । मौसमविदहरूले सोमबार, मंगलबार र बुधबार तीन दिन वर्षा हुने अनुमान गरेका छन् । हावाहुरी र चट्याङको खतरा रहेकाले सतर्क रहन पनि उनीहरूले सुझाएका छन् ।

स्थानीय वायुसँगै पश्चिमी वायुको  प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भेगका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको प्रक्षेपणअनुसार आगामी तीन दिन वर्षा हुनेछ । वर्षा हल्कादेखि मध्यम प्रकृतिको हुने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धरानमा २७ मिलिमिटर वर्षा भएको छ । जनकपुरमा २०, सिमरामा १६, धनकुटामा सात, ताप्लेजुङमा पाँच, विराटनगरमा छ र जिरीमा सात मिलिमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।