NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सोमबारसम्म कांग्रेस सरकारमा जाने तयारी, को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेस सोमबारसम्म सरकारमा सहभागी हुने भएको छ ।

६ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सत्ता गठबन्धन दलहरू मन्त्रिपरिषद् विस्तारमा केन्द्रित भएका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले र राप्रपा मन्त्रिपरिषदबाट बाहिरिएपछि अहिले माओवादी केन्द्रबाट ५ जना र जनमत पार्टीबाट एक जना मन्त्री रहेका छन् ।

११ दलको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड सत्ता साझेदार दलहरूलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा छन् । मन्त्रालय भागबण्डामा कांग्रेसले ८ वटा मन्त्रालय पाउने सहमति भएको नेता रामहरी खतिवडाले जानकारी दिए ।

‘हामीले ८ वटा मन्त्रालय पाउने सहमति भएको छ । कांग्रेसबाट मन्त्रीहरूको नेतृत्व गर्दै उपसभापति पूर्णबहादुर खड्का जानुहुन्छ । बाँकी मन्त्रीहरू योग्यता र योगदानका आधारमा समावेशी र प्रदेशीक सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने गरी मापदण्ड तय भएको छ’, उनले भने ।

कांग्रेसले कुन कुन मन्त्रालय पाउने भन्नेमा गठबन्धन दलहरूबीच अहिले कुनै सहमति नभएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । मन्त्रालय बाँडफाँटबारे सत्ता साझेदार दलहरूबीच थप छलफल भएपछि मन्त्रीको विषयमा टुंगो लगाउने महतले बताए ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन मिलाउने निर्णय गरेको थियो ।

खतिवडाका अनुसार शेखर पक्षले २ जना मन्त्री पाउने छन् । जसमा कोशी प्रदेशबाट मोरङका डीगबहादुर लिम्बु, बागमतीबाट नुवाकोटका अर्जुननरसिंह केसी र गण्डकीबाट उपसभापतिसमेत रहेका स्याङजाका धनराज गुरुङमध्ये दुई जना मन्त्री बन्ने सम्भावना रहेको छ ।

कोशीबाट नै सीता गुरुङ, रामहरी खतिवडाले मन्त्रीमा दाबी गरेका छन् । मधेशबाट पर्साका रमेश रिजाल, लुम्बिनीबाट बाँकेका किशोरसिंह राठोर, बागमतीबाट नुवाकोटकै डा. प्रकाशशरण महत, सुदूरपश्चिमबाट एनपी साउद मन्त्री बन्ने लाइनमा छन् ।

कांग्रेसले मन्त्री छनोटमा योगदान, योग्यतालाई आधार मानी समावेशीता र प्रदेशीक सन्तुलनलाई प्रमुख आधार बनाएपछि सात प्रदेशबाट मन्त्री बन्नेको लामै लिस्ट रहेका छन् ।

कुन प्रदेशबाट मन्त्रीमा क–कसको दाबी ?

शेखर मन्त्री नबन्ने नभएपछि कोशी प्रदेशबाट मन्त्री बन्न महामन्त्री विश्वप्रकाश शर्मा, निवर्तमान परराष्ट्रमन्त्री डा. नारायणक खड्का, निवर्तमान सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, दीपक खड्का, रामहरी खतिवडा, डीगबहादुर लिम्बु र सीता गुरुङ दाबेदार छन् ।

त्यस्तै मधेश प्रदेशबाट पूर्वमन्त्रीसमेत रहेका विमलेन्द्र निधि, अजयकुमार चौरसिया, रमेश रिजाल, रामकृष्ण यादव र मञ्जु खाँण दाबेदार रहेका छन् ।

यसैगरी प्रवक्तासमेत रहेका डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, गगन थापा, राजेन्द्रकुमार केसी, मोहनबहादुर बस्नेत, प्रदिप पौडेल, उदयशमशेर राणा दाबेदार छन् । तीमध्ये महत र केसी मन्त्री बन्ने सम्भावना बलियो छ ।

गण्डकी प्रदेशबाबट उपसभापति धनराज गुरुङ, डा. शशांक कोइराला, शंकर भण्डारी, जीवन परियार दाबेदार छन् ।

लुम्बिनी प्रदेशबाट किशोरसिंह राठोर, विनोद चौधरी, सञ्जय गौतम र दीपक गिरी दाबेदरा रहेपनि राठोरको सम्भावना बलियो रहेको छ ।

यसैगरी कर्णाली प्रदेशबाट पूर्णबहादुर खड्का लगभग मन्त्री बन्ने पक्का भएको खतिवडाले बताए । कांग्रेसले गृहमन्त्रालय पाएको खण्डमा उनले गृहमन्त्रालयमा जान जाएका थिए ।

सुदूरपश्चिमबाट बद्री पाण्डे, एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर, ईश्वरी न्यौपाने र दीलेन्द्रप्रसाद बडू दाबेदार रहेपनि साउदको सम्भावना बलियो रहेको छ ।