NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जिम्मेवारी भुलेर १० प्रहरी सम्पर्कविहीन, ताकेता गर्दा पनि मानेनन् फर्कंन

काठमाडौं । आफूलाई दिएको सम्बन्धित कार्यालयको जिम्मेवारी छाडेर १० प्रहरी बिना जानकारी सम्पर्क बाहिर पुगेको पाइएको छ । बिना जानकारी लामो समयदेखि अनुपस्थित भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र हाजिर हुन अन्तिम अल्टिमेटम दिएको छ ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले एक प्रहरी हवल्दार र ९ प्रहरी जवान बिना जानकारी आफूखुसी गैरहाजिर रहेको जनाएको छ । कार्यालयले सूचना टाँस गरेर जिम्मेवारीमा फर्कंन उनीहरूलाई पटक पटक आग्रह गरेको थियो । तर फर्कंन आनाकानी गरेका छन् ।

बिना जानकारी गैरहाजिर हुनेहरूमा प्रहरी हवल्दार दीपेन्द्र सिंह, प्रहरी जवानहरू नीरकुमार राई, दीपु अवाल, गोविन्द केसी, रामफल यादव, विशालकुमार राई, आनन्द मण्डल, धर्मेन्द्र बिक, आलेश थापा मगर र हरिराज बिक छन् । उनीहरू दुई महिनादेखि एक वर्षसम्म बिनाजानकारी गैरहाजिर छन् ।

प्रहरी नियमावली, २०७१ को नियम ११५ अनुसार सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरूलाई सेवामा फर्किन प्रधान कायालयले अन्तिम सात दिनको म्याद दिएको छ । निर्धारित मितिमा सन्तोषजनक स्पष्टीकरण जवाफसहित सम्पर्कमा आउन भनिएको र त्यसको समेत बेवास्ता गरेको खण्डमा प्रहरी नियमावली, २०७१ अनुसार थप कारबाही हुने प्रधान कार्यालयले चेतावनी दिएको छ ।

कुनै पनि प्रहरी बिना जानकारी लामो समय गैरहाजिर भएमा सेवामा फर्कंन मौका दिनुपर्ने व्यवस्था प्रहरी नियमावलीमा छ । त्यसका लागि सूचना टाँस गर्नेदेखि स्पष्टीकरण सोध्ने सम्मका प्रक्रिया छन् । यी दुवै प्रक्रिया पूरा हुँदासमेत सम्पर्कमा नआएको खण्डमा जागिरबाट बर्खास्त गर्न सकिने प्रावधान नियमावलीमा छ । न्यून बेतन सुविधा, अवकाशको उमेरलगायत कारण प्रहरीभित्र बीचमै सेवा छाड्ने प्रवृत्ति बढेपछि नियमावलीको यही प्रावधानअनुसार सेवाबाट हटाउने गरिएको छ ।

सेवामा प्रवेश गरेका प्रहरीले बीचमै छाड्दा राज्यको लगानी खेर जाने भएकाले यो प्रवृत्ति रोक्नुपर्ने आवश्यकता जानकारहरूले औंल्याउँदै आएका छन् । तर यसतर्फ अहिलेसम्म कुनै ठोस पहल भने भएको छैन ।

डिआइजीलाई ‘नौ दिन’ को खड्गो, के होला जागिर ?