NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

तनहुँ–१ उपनिर्वाचन : रामचन्द्रको विरासत जोगाउन कांग्रेसबाट को बन्दैछन् उम्मेदवार ?

काठमाडौं । तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्रमा बैशाक १० गते उपनिर्वाचन हुँदैछ ।

२०४८ देखि कांग्रेसको बर्चश्व रहेको उक्त क्षेत्रमा २०७४ को निर्वाचन बाहेक पौडेलले लगातार जित्दै आएका थिए । २५ फागुनमा उनी राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक कांग्रेसमा पुस्तान्तरण हुन लागिएको हो । ३१ वर्ष लामो पौडेलको राजनीति विरासत जोगाउनका लागि कांग्रेसबाट दुई जना केन्द्रीय सदस्यसहित ४ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् ।

उपनिर्वाचनका लागि केन्द्रीय सदस्य द्वय गोविन्द भट्टराई, ध्रुब वाग्ले, कांग्रेस केन्द्रीय कार्यलयका पूर्वमुख्य सचिव रामचन्द्र पोखरेल र नेविसंघका निवर्तमान महामन्त्री दीपक भट्टराई रहेका छन् । तीमध्ये वाग्लेले उम्मेदवारी नदिने घोषणा गरेका छन् । शुक्रबार नेपालवाचसँग कुराकानी गर्दै उपनिर्वाचनमा आफूले उम्मेदवारी नदिने बताए ।

‘योपटक गोविन्दजीले उम्मेदवार बन्न जोडबल गर्नुभएको छ । उहाँले मंसिरमा पनि चुनाव लड्न चाहनुभएको थियो । तर रामचन्द्र दाई आफै उठ्ने भएपछि उहाँ पछि हट्नुभयो । त्यसैले म योपटक उपचुनाव नलड्ने निर्णयमा पुगें । पार्टीले जसलाई टिकट दिन्छ उसैलाई मेरो पूर्ण समर्थन रहनेछ’, उनले भने ।

पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न उनी बिहान देउवा निवास धुम्बाराही पुगेका थिए । देउवाले भट्टराईलाई नै समर्थन गर्ने संकेत पाएपछि वाग्ले पछि हटेका हुन् ।

१५ फागुनमा देउवालाई भेटेका भट्टराईले वैशाखमा हुने उपनिर्वाचनमा आफूले उम्मेदवारी दिने बताएका थिए । देउवाले निर्वाचन जितेर आउन आफूलाई शुभेच्छा दिएको उनले दाबी गरेका थिए । टिकट दिन देउवा सकारात्मक भएपछि उनले निर्वाचनलाई केन्द्रित गरेर सामाखुशीमा सम्पर्क कार्यलय खोलिसकेका छन् । उपनिर्वाचनमा आफू नै सर्वसम्मत उम्मेदवार रहेको दाबी गरेका छन् ।

‘मंसिरमा भएको निर्वाचनमा पनि मेरो दाबी थियो । सम्मानीत नेता रामचन्द्र दाई उठ्ने भएपछि म पछि हटेको हुँ । जिल्लाले सर्वसम्मत रूपमा मलाई नै छानेट गरेर पठाउनेमा विश्वस्त छु’, भट्टराईले भने ।

उम्मेदवार बन्नका लागि तनहुँका पुराना कांग्रेस नेता रामचन्द्र पोखरेलले समेत इच्छा देखाएका छन् । अहिलेसम्म कुनै पनि राजकीय भूमिका नपाएका पोखरेल निर्वाचनलाई लक्षित गरी तनहुँ गएका छन् । यसैगरी नेविसंघका निवर्तमान महामन्त्री भट्टराईले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । निर्वाचनमा भाग लिन धेरैले आकांक्षा देखाएपनि गोविन्दले टिकट पाउने सम्भावना बलियो रहेको वाग्लेले बताए ।

चैत ६ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा उम्मेदवार बन्न चाहने नेताहरूको लिस्ट पठाउन मातहतका समितिलाई निर्देशन दिएको थियो । पार्टीको निर्देशनअनुसार चैत १४ गते जिल्ला कमिटीले कम्तिमा ३ जना उम्मेदवारको नाम केन्द्रलाई पठाउने तयारी गरेको छ । १५ गते बस्ने कांग्रेसको कार्यसम्पादन समितिको बैठकले टिकट दिनेसम्बन्धमा निर्णय लिने केन्द्रीय सदस्य वाग्लेले बताए ।

मंसिरमा भएको निर्वाचनमा कांग्रेस, माओवादीसहित पाँचदलीय गठबन्धनबाट उम्मेदवार रहेका पौडेलले एमालेका उम्मेदवार एकबहादुर रानालाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका थिए । २५ हजार ३१८ मतसहित पौडेल विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रानाले १९ हजार ९४३ मत पाएका थिए । पौडेलको बागी उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत पाएका थिए । २०७४ को निर्वाचनमा पौडेल सोही क्षेत्रबाट एमालेका उम्मेदवार किसनकुमार श्रेष्ठसँग पराजित भएका थिए ।

तनहुँ–१, चितवन–२ र बारा–२ मा उपचुनावको लागि निर्वाचन आयोगले दल दर्ता गर्न आइबारसम्मको समयसीमा दिएको छ । उम्मेदवार मनोनयन दर्ताको समय चैत २० गतेलाई तोकेको छ । २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ ।