NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बलिउड छोडेकोबारे प्रियंकाले तोडिन् मौनता, राजनीति हावी भएको आरोप

एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले बलिउड छोडेर हलिउड जाने निर्णयबारे पहिलोपटक मौनता तोडेकी छिन् । हालै ड्याक्स शेफर्डको पोडकास्ट शो आर्मचेयर एक्सपर्टमा प्रियंकाले करियरको चरम बिन्दुमा बलिउड उद्योग छोडेर गीत गाउन थालेको बताइन् । त्यसपछि उनले अमेरिकामै आफ्ना लागि काम खोज्न थालिन् ।

प्रियंकाले बलिउडमा आफूले चाहेको काम नपाएको र इन्डस्ट्रीको राजनीतिबाट निराश भएको बताइन् । योसँगै बलिउडमा आफूले पाएको कामबाट उनी सन्तुष्ट थिइनन् ।

उक्त पोडकास्टमा प्रियंकाले थप भनिन्, ‘देसी हिट्सको म्युजिक लेबलकी अञ्जली आचार्यले एकपटक मलाई म्युजिक भिडियोमा देखेपछि उनले मलाई बोलाएकी थिइन् । त्यतिबेला म सात खून माफको सुटिङ गरिरहेको थिएँ । अञ्जलीले मलाई अमेरिकामा संथीत करियर बनाउन किन रहर लाग्यो भनेर सोधिन् । म त्यतिबेला बलिउडबाट भाग्ने बाटो खोज्दै थिएँ ।

प्रियंकाले भनिन्, ‘म त्यहाँबाट निस्कने बाटो खोज्दै थिएँ । मलाई उद्योगमा एउटा कुनामा धकेलियो। मानिसहरूले मलाई कास्ट गरेका थिएनन्। मसँग मानिसहरूको गुनासो थियो। म त्यस्ता खेलहरू खेल्न राम्रो छैन। म राजनीतिबाट थाकेको थिएँ र विश्राम लिने तरखरमा थिएँ।’

संगीतकै कारण संसारको अर्को भाग घुम्ने मौका पाएको उनी बताउँछिन् । बलिउडमा पाइरहेको फिल्ममा पनि उनी सन्तुष्ट भने थिइनन् । त्यतिबेलासम्म उनले बलिउडमा धेरै समय बिताइसकेकी थिइन् । त्यसभन्दा अघि बढेर काम गर्ने चाहना नभएपछि उनलाई संगीको अफर आएसँगै उनले अमेरिका जाने निर्णय गरिन् ।

प्रियंकाले सन् २०१२ मा आफ्नो संगीत करियर सुरु गरेकी थिइन् । उनको पहिलो गीत ‘इन माई सिटी’ थियो । यसबाहेक उनले एक्सोटिक, आइ कान्ट मेक यु लभ मी जस्ता गीत गाइन् । उनले सन् २०१५ मा रिलिज भएको फिल्म ‘मेरी कोम’मा पहिलो पटक हिन्दी फिल्ममा गीत गाएकी थिइन् ।

गायनका क्रममा उनले पिटबुल, फेरेल विलियम्स र जे जेड जस्ता अन्तर्राष्ट्रिय गायकहरूसँग काम गरिन् । तर संगीत क्षेत्रमा उनको करियरले गति लिन सकेन । यसै क्रममा प्रियंकाले आफ्नो अभिनय राम्रो भएको महसुस गरिन् । यसपछि कसैले प्रियंका चोपडालाई अमेरिकामै रहेर अभिनयमा हात हाल्ने सुझाव दिए ।

सन् २०१५ मा प्रियंकाले अमेरिकी सिरिज क्वान्टिकोबाट आफ्नो हलिउड करियर सुरु गरेकी थिइन् । त्यही समययता उनी बलिउडमा खासै सक्रिय छैनन् ।

प्रियंकाले करिब ५३ वटा बलिउड फिल्ममा काम गरिसकेकी छिन् । जसमा बर्फी, बाजीराव मस्तानी, दोस्ताना, क्रिस र डन २ जस्ता फिल्महरू पर्छन्। उनको अन्तिम बलिउड फिल्ममा ‘द स्काई इज पिंक’ थियो । जसले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन। तर २०१५ देखि प्रियंका बलिउडमा खासै सक्रिय छैनन् । उनले अहिले हलिउड फिल्म र अन्तर्राष्ट्रिय शोहरूमा आफूलाई व्यस्त राख्दै आएकी छिन् ।

प्रियंकाले सन् २०१५ मा ‘क्वान्टिको’ शोबाट हलिउडमा डेब्यु गरेकी थिइन् । यसपछि उनले २०१७ मा ‘बे वाच’मा काम गरिन् । २०१८ मा उनी फिल्म ‘ए किड लाइक ज्याक’ र २०१९ मा फिल्म ‘इज इट रोमान्टिक’मा देखा परिन्। सन् २०२३ मा प्रियंका ‘सिटाडेल’ र ‘लभ अगेन’मा देखिनेछिन् । यसबाहेक उनको अर्को बलिउड फिल्म ‘जी ले जरा’ हो, जसमा प्रियंकासँगै आलिया र कट्रिना कैफ पनि छन् ।