NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र 

खोटाङ । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् ।

मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका–१ बहेरीका सनम दराई रहेका छन् ।

मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत हारगुहार गरिरहेका छन् । काठमाडाैंकाे  गौशलास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक–फरक एजेन्टलाई फरक–फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको छ ।

दैनिक आठ घण्टाका दरले हप्ताको ६ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको खार्मीका सोमले जानकारी दिएका छन् । ‘यहाँ ल्याएर छाडेपछि सुरुमा १८ दिन काम लगायो । अहिले हामी आएको पाँच महिना बितिसक्यो । कम्पनीका मान्छे भेट्नसमेत आएका छैनन्’, उनले भने, ‘नेपालस्थित म्यानपावर कम्पनीका प्रतिनिधिलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्की दिन थालेका छन् । हामीलाई बन्दी बनाएर राखिएको छ ।