NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

उपनिर्वाचन : तीनवटै क्षेत्र ‘क्लीन स्वीप’ गर्ने दाउमा रास्वपा, कसको कति मत ?

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनको लागि सोमबार मनोनयन दर्ता गराएका छन् । तनहुँ–१ मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता घटक रास्वपाले स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । विपक्षी एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।

यसैगरी चितवन–२ रास्वपाबाट सभापतिसमेत रहेका रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् । एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै बारा–२ मा गठबन्धनबाट जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । यादवलाई चुनौती दिँदै सत्ता घटक जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएको छ । विपक्षी एमालेबाट पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । रास्वपाले पूर्वडीआइजी तथा सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई उम्मेदवार बनाएको छ ।

एमाले–माओवादी सत्ता समीकरण भत्किएपछि अहिले कांग्रेस, माओवादी, रास्वपा, जसपा, नेकपा एस, जपा, लोसपा, नाउपासहित १० दलको गठबन्धन छ । तीमध्ये रास्वपा, राजमो र प्रभु साह नेतृत्वको आम जनता पार्टी सरकारमा गएको छैन ।

मन्त्रालय भागबण्डाप्रति असहमति जनाउँदै जपा सरकारबाट बाहिरिएको छ । यद्यपि उसले सरकारलाई दिएको समर्थन कायमै राखेको छ । आसन्न निर्वाचनमा सत्ता गठबन्धनभित्रै उम्मेदवारी दिने विषयमा एकमत हुन सकेको छैन ।

तनहुँ–१ र चितवन–२ मा कांग्रेसले उम्मेदवारी दिएको ठाउँमा गठबन्धन एकजुट भएपनि बारा–२ मा एक अर्काविरूद्ध उम्मेदवारी दर्ता भएको छ ।

यहाँ जसपाका अध्यक्ष यादव फेरी उम्मेदवारी दिएका छन् । उनलाई सत्ता साझेदार दलहरू कांग्रेस, माओवादी, जसपा, नेकपा एस लगायत दलहरूले समर्थन गरेका छन् । तर सत्ता घटक जपाले उनीविरूद्ध छुट्टै उम्मेदवारी दिएको छ । कसलाई समर्थन गर्ने भन्नेमा नाउपा खुलेको छैन । लोसपाले यादवलाई नै समर्थन गर्ने भएको छ । यस परिदृष्यले चुनावी माहोललार्ई थप तताएको छ । अर्कोतर्फ चुनावी मैदानमा हेवी उम्मेदवारबीचको घम्साघम्सीले तीनवटै क्षेत्रको निर्वाचन रोचब बन्ने देखिन्छ ।

तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचनका लागि निर्वाचन आयोगले सोमबार उम्मेदवारी दर्ताको समय तोकेको छ । २१ गते उम्मेदवारविरूद्ध दाबीविरोध, २२ गते परेका उजुरीमाथि छानविन र २३ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

तनहुँ–१ : कांग्रेसलाई विरासत जोगाउन वाग्लेको चुनौती

कांग्रेसको पुस्तौनी विरासत रहेको तनहुँ–१ राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र हो । उनी २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको सो क्षेत्रमा कांग्रेसले केन्द्रीय सदस्य भट्टराई मैदानमा उत्रिएका छन् । नेविसंघका पूर्वसभापति समेत रहेका उनी झण्डै चार दशक कांग्रेस राजनीतिमा सक्रिय छन् । यो क्षेत्र २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ मा कांग्रेसले बाजी मारेको थियो । अन्तर्घातका कारण २०७४ को निर्वाचनमा पराजित भएको थियो ।

कांग्रेसले पूर्वमन्त्री तथा नेता गोविन्दराज जोशीलाई व्यवस्थापन गर्न नसकेको आन्तरिक कमजोरीले मात्र २०७४ मा पराजय भोगेको हो । कांग्रेसको गढको रूपमा मानिएको तनहुँ–१ मा आफ्नो विरासत जोगाउन मुख्य चुनौती योपटक नयाँ दल रास्वपा देखिएको छ ।
शुक्रबार कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका चर्चित अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले भट्टराईलाई चुनौती दिएका छन् । सभापति शेरबहादुर देउवा र आरजु राणासँग टकराबका कारण ५० वर्ष लामो पारिवारिक राजनीति विरासतमाथि अल्पविराम लगाउँदै वाग्लेले कांग्रेस परित्याग गरेका हुन् ।

लामो समय अमेरिका बसोबास गरेका वाग्ले २०७४ र २०७९ को तीन वटै निर्वाचनमा निर्वाचन घोषणापत्रका मस्यौदाकार हुन् । अर्थतन्त्रसम्बन्धी राम्रो ज्ञान हाँसिल गरेका उनी विश्वकै प्रशिद्ध अर्थशास्त्री हुन् । राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकार रहेर काम गरेका वाग्ले गतवर्ष मात्र स्थायी रूपले नेपाल फर्केका हुन् । गएको निर्वाचनमा चिवन र काठमाडौंका निर्वाचन क्षेत्रमध्ये एक ठाउँबाट उम्मेदवार बन्न चाहेका थिए । तर उनलाई देउवाले टिक दिन नचाहेपछि नेतृत्वसँग असन्तुष्ट थिए । बुढानीलकण्ठ स्कुल हुँदै लण्डन स्कुल अफ इकोनोमिक्स, हावर्ड विश्वविद्यालयमा अध्ययन गरेका उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् ।

वाग्लेको उपस्थिति कांग्रेसका उम्मेदवार भट्टराई भारी पर्ने देखिन्छ । उनी लामो समय तनहुँलाई केन्द्रबिन्दू बनाएर राजनीतिमा खारिएका अनुभवी नेता हुन् । तनहुँका जनताबीच भट्टराई निकै लोकप्रिय छन् । भट्टराई र वाग्ले दुवै जना परिक्षण नभएका तथा सम्भावना बोकेका नेता हुन् । तर कांग्रेसभित्र वाग्लेको विद्रोह तथा रास्वपाप्रति जनताको बढ्दो आकर्षणका कारण कांग्रेसको विरासत जोगाउन भट्टराईलाई फलामको चिउरा चपाए सरह हुने देखिन्छ । यद्यपि उनलाई गठबन्धनबाट कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलहरूको समर्थन रहेको छ ।

विपक्षी एमालेले यो क्षेत्रमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाललाई उठाएको छ । गएको निर्वाचनमा काठमाडौं–६ बाट रास्वपाका उम्मेदवार शिशिर खनालसँग फराकिलो मतान्तरले पराजित भएका खनाल वाग्ले र भट्टराई चुनौती दिन तनहुँ जान लागेका हुन् । तीन वर्ष लामो समय प्रहरी सेवामा काम गरेका उनी लोकप्रिया प्रहरी अधिकारी हुन् । योपटक सत्ता गठबन्धबीचको प्रतिस्पर्धाले विभाजित जनमत आफूले पाउने विश्वास एमालेले लिएको छ ।

मंसिरमा भएको निर्वाचनमा तनहुँ–१ बाट कांग्रेसका उम्मेदवार पौडेलले २५ हजार ३६१ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाए ।
समानुपातिकतर्फ कांग्रेसको २० हजार १५८, एमालेको १६ हजार ६८३, रास्वपाको १२ हजार ७७३ र माओवादीको ७ हजार ३२६ मत रहेको छ । यसैगरी राप्रपा ३ हजार ५७७, एस ५५० रहेको छ । मतपरिणाम हेर्दा सत्तापक्षको जम्मा मत २८ हजार ३४ रहेको छ । रास्वापाको १२ हजार ७७३ र विपक्षी एमाले १६ हजार ६८३ र राप्रपा ३ हजार ५७७ मत रहेको छ ।

चितवन–२ : दोस्रोपटक सानदार जितको पर्खाइमा रवि

यसैगरी चर्चित निर्वाचन क्षेत्र चितवन–२ मा रास्वपाका सभापतिसमेत रहेका लामिछानेले नै भारी मतले जित्ने सम्भावना देखिन्छ । मंसिरको निर्वाचनमा झण्डै ३५ हजार मतान्तरले कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पराजित गरेका रविले योपटक कांग्रेस चिवतनका पूर्वसभापति जितनारायण श्रेष्ठले चुनौतीको समाना गर्दैछन् । लामो समय सञ्चार कर्ममा रहेर लोकिप्रिय रहेका रवि योपटक अघिल्लो निर्वाचनको भन्दा बढी मत ल्याएर जित्ने दाबी गरेका छन् ।

शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफूविरूद्ध पहिले पनि षड्यन्त्र भएको अहिले पनि त्यो कायमै रहेको बताए । पत्रकार सम्मेलनमा उनले एक बदला तीन उम्मेदवार लिएर संसद भवन छिर्ने दाबी गरे । तीन वटै क्षेत्रमा गठबन्धनसँग चुनावी तालमेल नगरेको रास्वपाको उपस्थिति परम्पारगत दलकाका लागि टाउको दुःखाइ भएको छ ।

जनमत रास्वपाप्रति आकर्षित रहेको र अहिलेसम्म आफ्ना सांसद र मन्त्रीहरू पूर्णरूपले परिक्षण नभएकाले आसन्न निर्वाचन पनि लोकप्रिय मत ल्याएर जित्नेमा रविको आत्मविश्वास देखिन्छ ।

यद्यपि नागरिकता प्रकरणमा दोषी ठहर गर्दै सर्वोच्च अदालते उनको सांसद, पार्टी सभापति र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त गरेपछि योपटक जनमत विभाजित हुने विपक्षीको आँकलन छ । ११ पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका रवि ३२ दिनै पदमुक्त भएका थिए ।

आफूमाथि गम्भीर उजुरी हुँदाहुँदै स्वार्थ बाजिने मन्त्रालयमा गएको, म्यान पावरका मालिकलाई मन्त्री बनाएको, पदमुक्त भएपछि पनि पुनः गृहमन्त्री बन्न दलका नेताहरूको घरघर चारेको, सत्ता स्वार्थका लागि सरकारलाई दिएको समर्थन कायमै राखेको लगायत अरोप रविलाई लागेकोे छ ।

उनीमाथि दोहोरो राहदानी लिएको आरोपमा सर्वोच्च अदालतमा मुद्दा परेको छ । अदालतले मुद्दा दर्ता गरे रवि फेरी संकटमा पर्न सक्छन् । रविमाथिको मुद्दा अदालतमा दर्ता गर्नुपर्ने मनासिव कारण नभएको भन्दै महान्यायाधीवक्ता दीनबन्धु पोखरेलले फाइल नै बन्द गरेका थिए । उक्त निर्णयविरुद्ध आइतबार युवराज पौडेलले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । सत्तासँग सौदाबाजी गरेर राहदानीसम्बन्धी फाइल बन्न गर्न लगाएको उनीमाथि आरोप छ ।

दल खोलेको ५ महिनामै रास्वपालाई २० सिट जिताउन सफल भएका उनी उपनिर्वाचनमा तीन वटै सिट ‘क्लीन स्वीप’ गर्ने रणनीतिमा छन् ।
त्यस्तै गठबन्धनबाट नै रविका प्रतिस्पर्धी रहेका श्रेष्ठ चितवन कांग्रेसमा लोकप्रिय नेता हुन् । रविको नागरिकता तथा राहदानी मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाउने उनको रणनीति छ । श्रेष्ठले चितवन नेताहरूको परिक्षण गर्ने थलो नभएको जिकिर गर्दै योपटक आफूले भारी मतले जित्ने दाबी गरेका छन् । उनलाई कांग्रेससहित माओवादी केन्द, जसपा, एकीकृत समाजवादी लगायत दलहरूले समर्थन गरेका छन् ।
विपक्षी एमालेले जिल्ला अध्यक्षसमेत रहेका लोकप्रिय नेता रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । यसअघि रविका प्रतिस्पर्धी रहेका चर्चित नेता कृष्णभक्त पोखरेल पछि हटेपछि एमालेले न्यौपानेलाई उम्मेदवार बनाएको हो । यहाँ अघिल्ला तीन निर्वाचनमा पोखरले विजयी भएका थिए । मंसिरको निर्वाचनमा रविमाथि भ्रम रहेको जिकिर गर्दै योपटक उनले निर्वाचन नजित्ने पोखरेलले दाबी गरे ।

यसैगरी मंसिरमा भएको निर्वाचन परिणाम हेर्दा रास्वपा अत्याधिक मतले अगाडि रहेको छ । चितवन–२ मा रविले ४९ हजार ३०० मत पाएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रेष्ठले १४ हजार ९८८ मत पाए । एमालेका पोखरेलले १४ हजार ६५२ मत पाए ।
समानुपातिकतर्फ रास्वपाको ३५ हजार ९४५, एमालेको १६ हजार ७८४, कांग्रेसको १२ हजार १३२, माओवादीको ८ हजार ४०७ र राप्रपाको ३ हजार २१८ मत रहेको छ । एसकाे ६१६, मंगोल नेसनल अर्गनाइजेसनकाे ४५६, सुशासन पार्टीकाे ३३०, मालेकाे २२०, जपाकाे १५५, हानेपाकाे १२६, नाउपाकाे १२४ र जनमोर्चाकाे १२२ रहेकाे छ ।

यसरी तथ्याङक हेर्दा सत्तापक्षले जम्मा २१ हजार ५५६, रास्वपा एक्लैले ३५ हजार ९४५ मत पाएको छ । त्यस्तै एमाले १६ हजार ७८४, राप्रपाले ३ हजार २१८ र अन्यले १ हजार १३२ मत पाएको छ ।

बारा–२ : उपेन्द्रलाई दोस्रोपटक संसद छिर्न सत्ता गठबन्धन नै तगारो

बारा–२ मा पनि योपटक रोचक प्रतिस्पर्धा हुने भएको छ । गएको निर्वाचनमा एमालेको सहयोगमा यहाँ जसपाका उम्मेदवार रामसहायप्रसाद यदाव ३१५ को झिनो मतान्तरले विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार शिवचन्द्र कुशवाह पराजित भए । यादव चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेका सो क्षेत्रमा जसपाका अध्यक्ष यदव उठ्ने तयारी गरेका छन् । २०६३ को मधेश आन्दोलनबाट राजनीतिमा स्थापित भएका उनी त्यसयता निरन्तर केन्द्रीय राजनीतिमा सक्रिय छन् ।

त्यतिबेला मधेशका मसिहा भनेर चिनिएका यादवलाई सत्ता केन्द्रीत राजनीतिमा मधेशलाई धोका दिएको आरोप लाग्दै आएको छ । २०६४, २०७०, २०७४ को निर्वाचन जितेका उनी उप्रधानमन्त्रीसहित पटक–पटक मन्त्री भए । लामोसमय देउवा नेतृत्वको गठबन्धनमा रहेका उनी प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेका थिए । निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग नमिठो हार व्यहोरेपछि यादव पुनः पुरानै गठबन्धनमा फर्किए । उपनिर्वाचनबाट पुनः संसद भवन प्रवेश गर्ने तयारी गरेका उनलाई गठबन्धनकै उम्मेदवार गलपाँसो बन्ने देखिएको छ ।

उनलाई चुनौती दिन सत्ता घटक रास्वपाले पूर्वडीआइजी रमेश खरेललाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट नै जनमत पार्टीले भर्खर माओवादी परित्याग गरेका कुशवाहलाई उम्मेदवार बनाएको छ । यहाँ विपक्षी एमालेले पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।
यादवलाई सत्तारूढ दल कांग्रेस, माओवादी, जसपा लगायत देशले समर्थन गरेका छन् । तर सत्तापक्षकै जपाले असहयोग उनी संकटमा फसेका छन् ।

अर्कोतर्फ रास्वपाका उम्मेदवार खरेल यादवका लागि थप चुनौती देखिन्छ । सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेल गएको निर्वाचनमा काठमाडौं–१ बाट कांग्रेसका उम्मेदवार प्रकाशामान सिंहसँग पराजित भएका थिए । रास्वपासँग पार्टी एकता गर्ने तयारीमा रहेका खरेलले उम्मेदवारी दिएपछि बाराको निर्वाचन थप रोचक बनेको हो । बारा–२ मा दलगत बाहेक स्वतन्त्र मत निर्णाय रहेको छ । गएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले मात्रै यहाँ २९ हजार मत पाएका थिए ।

गएको निर्वाचनमा बारा–२ मा प्रत्यक्षतर्फ जपपाका रामसहाय १३ हजार ८२२ मत ल्याएर विजयी भए । उनको प्रतिस्पर्धी कुशवाहले १३ हजार ४६८ मत पाए । स्वतन्त्र उम्मेदवार त्रय रामकिशोरप्रसाद यादव, रवीन्द्रप्रसाद यादव, अरुणकुमार ज्ञवालीले क्रमशः ११ हजार ४३, १० हजार ७५० र ७ हजार ६९८ मत पाएका छन् । जनमत पार्टीले २ हजार ७२५ मत पाएको छ ।

समानुपातिकतर्फ जसपा १३ हजार २४२, कांग्रेस ११ हजार १७९, एमाले ९ हजार १९३, जपा ८ हजार ८४६, लोसपा ४ हजार २३५, नाउपा ३ हजार ७९४, माओवादी ३ हजार २६५, नेपाल संघीय समाजवादी २ हजार ३६६, नेकपा एस १ हजार ४५५, रास्वपा १ हजार ४५५ र राप्रपा ९९२
अंकगणित हेर्दा सत्तापक्षको जम्मा मत ३३ हजार ३७६ मत रहेको छ । त्यस्तै एमालेको ९ हजार १९३, जपाको ८ हजार ८४६, नउपाको ३ हजार ७९४ र अन्यको ३ हजार ३५८ मत पाएका छन् ।