NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ट्विटरको लोगो बदलेर मस्कले किन राखे कुकुर ?

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्विटरको स्वामित्व लिएयता एलन मस्कले यसका नीतिहरू लगातार परिवर्तन र परिमार्जन गर्दै आइरहेका छन् । नीति मात्र होइन, उनी यसको स्वरूपमा समेत फरकपना ल्याउन दत्तचित्त छन् ।

यसै सिलसिलामा मस्कले ट्विटरलाई चिनाउने प्रसिद्ध ट्रेड मार्क नै परिवर्तन गरिदिएका छन् । यसअघि ट्विटरको लोगोमा नीलो चरा रहेकोमा त्यसलाई फेरेर उनले कुकुर राखेका हुन् ।

यसबारे जानकारी दिन मस्कले एउटा कार्टुन सेयर गरेका छन् जसमा ट्विटरको पुरानो लोगो हेरिरहेका ट्राफिक प्रहरीलाई कुकुरले ‘त्यो त पुरानो तस्बिर हो’ भनिरहेको देखिन्छ ।

अक्सर ठूला कम्पनीले नीति परिवर्तन गरे पनि ट्रेडमार्कविरलै चलाइन्छ । ट्विटरलाई चिनाउन भूमिका खेलेको ट्रेड मार्क मस्कले चाहिँ किन परिवर्तन गरे त ? ट्विटर प्रयोगकर्तामा स्वाभाविक रूपमा अहिले यस्ता जिज्ञासा उत्पन्न भइरहेका छन् ।

मस्कको पछिल्लो कदमबारे थाहा पाउन भने दुई प्रसंगमा जानुपर्ने हुन्छ ।

हालै मस्कविरुद्ध एउटा मुद्दा अदालतमा दायर भएको छ । जसमा क्रिप्टोकरेन्सी डोजेक्वाइनको मूल्य बढाउन धेरै प्रचारात्मक रणनीतिहरू अपनाएको आरोप लगाउँदै २५८ बिलियन डलर जरिवाना हुनुपर्ने माग गरिएको छ । मस्कले भने त्यसको खण्डन गर्दै मुद्दा खारेजी हुनुपर्ने जिकिर गर्दै आइरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार,ट्विटरको लोगो परिवर्तन गर्ने मनस्थितिमा मस्क पुग्नुको एउटा कारण यही हो ।

मस्कले ट्विटरको लोगो परिवर्तन गरेसँगै यसको असर डोजेक्वाइनको मूल्यमा परेको छ । बताइअनुसार, यो निर्णयपछि यसको मूल्य करिब ३० प्रतिशतले उकालो लागेको छ । मस्क स्वयंले पनि मूल्यमा आएको परिवर्तनबारे ट्विट गरेका छन् ।

अर्को कारणचाहिँ प्रयोगकर्ताको सुझाव हो । केही पहिले एक प्रयोगकर्ताले मस्कलाई ट्विटर खरिद गरेर यसको ब्लू बर्ड लोगोलाई डजको साथ बदल्न आग्रह गरेका रहेछन् । मस्क स्वयंले यो कुराको पुष्टि गर्दै कुराकानीको पुरानो स्क्रिनसट साझा गरेका छन् । उनले त्यही ट्विटमा पुरानो वाचाअनुसार लोगो परिर्वन गरेको प्रष्ट पारेका छन् ।

ट्विटरको लोगोमा प्रयोग गरिएको कुकुर कुन हो ? किन अरू नगरेर यही नै प्रयोग गरियो ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, ट्विटरमा प्रयोग गरिएको यो कुकुरको वास्तविक नाम काबोसु हो। यो जापानको साकुरामा आफ्नो मालिक अत्सुको सातोसँग बस्छ।

काबोसु एक उद्धार डग हो । सन् २०१० मा यसका मालिक अत्सुकोले आफ्नो ब्लगमा पहिलो पटक यसको तस्वीर सार्वजनिक गरेका थिए । जुन तस्बिरमा काबोसु कृत्रिम रूपमा मुस्कुराइरहेको देख्न सकिन्छ । यो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिकपछि लोकप्रिय मेमको एक हिस्सा भएको छ। यो कुकुर कत्तिको लोकप्रिय छ भने यससँग जोडिएका मेम्सलाई ‘डोज मेम्स’ भन्ने गरिएको छ ।

केही समयअघि यो कुकुरको नामको क्रिप्टोकरेन्सी प्रयोगमा ल्याइएको थियो । जसलाई एलोन मस्क आफैंले धेरै अवसरमा प्रवर्द्धन गरेका छन्। यति मात्र होइन, उनीहरूले कस्तुरीको खुराकसँग सम्बन्धित मेम्स पनि सेयर गरिरहन्छन्।