NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रविबारे के भन्छन् उनका प्रतिस्पर्धी न्यौपाने ? यस्ता छन् चुनाव जित्ने पाँच आधार

काठमाडौं । नागरिकता प्रकरणमा सांसदसहित उपप्रधानमन्त्रीसमेत गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने यतिबेला उपनिर्वाचनको तयारीमा व्यस्त छन् ।

बढ्दो गर्मिसँगै चुनावी अभियानमा मतदाताको घरआगनमा व्यस्त रहेका बेला आफ्नै सांसद रकम लेनदेनमा मुछिएको अडियो बाहिरिएपछि उनी थप तनाबमा परेका छन् ।

रास्वपाका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच रकम लेनदेन प्रकरणसम्बन्धी अडियो सार्वजनिक भएपछि लामिछानेमाथि थप नैतिक दबाब बढेको छ । मन्त्री बन्नका लागि रविका कोर टिमले २ करोड मागेको भन्दै श्रेष्ठले प्रसाईसँग आर्थिक सहयोग मागेपछि रविसमेत विवादमा तानिएका हुन् ।

यद्यपि यस विषयमा उनले सत्यतथ्य छानविन ७२ घण्टाभित्र वास्तविकता सार्वजनिक गरी श्रेष्ठ र उनले जोडेका व्यक्तिमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

नागरिकता प्रकरणमा एक साथ सबै पद गुमाएका रविमाथि राहदानी दुरूपयोग गरेको गम्भीर अभियोगमा सार्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । जुनसुकै बेला उनीमाथि फौजदारी अभियोगमा मुद्दा अघि बढ्न सक्छ । एक पछि अर्को काण्डमा मुछिएका रविलाई हराउनका लागि विपक्षीहरू यसैलाई बलियो मुद्दा बनाएका छन् ।

रविका आफ्नै बदमासीका कारण योपटक निर्वाचन हार्ने उनका प्रतिस्पर्धीको दाबी छ । उनका प्रतिस्पर्धी रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानलेले योपटक रविले निर्वाचन नजित्ने दाबी गरे ।

 रविमाथि नेपालवाचसँग न्यौपानेले दिएको अभिव्यक्ति जस्ताको तस्तै :

१. रविमाथिको क्रेज अब जनतामा छैन

रविजी चितवनका जनताका समस्यासँग जोडिनु पनि भएको छैन । उहाँलाई यहाँका जनताका समस्याबारे थाहा पनि छैन । उहाँ जनतामा भ्रम छर्न सिपालु हुनुहुन्छ । उहाँले जितेर गएर जनतालाई टेलिफोन नम्बरसम्म दिनुभएन । रवि जनताको बीचमा होइन स्वार्थी समुहको सीमित घेरामा हुनुहुन्छ । उहाँ जनप्रतिनिधि हुँदासमेत जताले आफ्ना समस्या राख्न पाउनु भएन । त्यसैले जनतामाझ उहाँको लोकप्रियता बढेको होइन घटेको छ । उहाँकै गल्तीका कारण उपनिर्वाचन भयो । यो जनताले बनाइदिएको विवाद होइन ।

२. बाहिरबाट आएकाले जनताको समस्या बुझ्दैनन्

बाहिरका उम्मेदवारका कारण यहाँका जनताले दुःख पाए । चुनाव जिते । हल्लाखल्ला गरे । जनतालाई भ्रममा पारे तर उहाँले नागरिकताधरी सम्हाल्न सकेनन् । अमेरिकाको नागरिकता लिने अनि नेपाली नागरिकता नलिने यो उनको आफ्नै कमजोरी हो । अहिले आएर मैले जानिन भनेर हुन्छ ? उनलाई प्रेस काउन्सिलले पहिल्यै सचेत गराइसकेको थियो । उनी नेपाली नागरिक भएका भए श्रम स्वीकृति लिनुपथ्र्यो ? नेपाली नागरिक भएको भन्दै सबैलाई ढाँटे ।

अर्कोतर्फ राहदानी प्रकरणमा उनीमाथि गम्भीर मुद्दा लागेको छ । यो फौजदारी अभियोग सम्बन्धी गम्भीर अपराध हो । उहाँ कति अशिष्ट छन् भने आफ्नो विरोध गर्ने सबैलाई भ्रष्टचारी भएको आरोप लगाएका छन् । म रविलाई चुनौती दिन चाहन्छु, विकासको एजेण्डाको बारेमा प्रतिस्पर्धीबीच बहस गर्ने आँट छ ?

सामाजिक र राजनीतिक काम गर्दा हामीले विगतमा कुनै गल्ति गरेको छैन, चाहे आर्थिक पाटो हो वा चारित्रिक पाटो होस् । उहाँले चारित्रिक, राजनीतिक र आर्थिक पाटोमा हामीसँग छलफल गर्न सक्नुहुन्छ ?

३. आफ्ना अपराध लुकाउन गरेको स्टनबाजी जनताले बुझेका छन्

म चितवनका जनतासँग यहाँको पानी पिएर हुर्किएको मान्छे हो । यहाँका नागरिकका समस्यासँग जुधेको मान्छे हो । उहाँहरूका जन्मदेखि मृत्युसम्मका सबै सुख र दुःखसँग साक्षत्कार रहेको छु । म रवि जस्तो चुनावी अभियानमा मात्रै दौडिने मान्छे होइन । हामी हरपल जनताको समस्यासँग समेल भएका छौं ।

अब चितवनका जनताले उहाँको स्टन्डबाजीलाई पत्याउँदैनन् । उहाँहरू मिडियालाई प्रयोग गरेर जनतालाई फेरी भ्रममा पार्न खोज्दै हुनुहुन्छ । त्यो भ्रम आफ्ना अपराध लुकाउनका लागि हो, जनताको सेवाका लागि होइन । आफ्ना कमजोरी ढाकछोप र ठूलो अपराध लुकाउन जनप्रतिनिधि बन्ने काम गरेका छन् । त्यसैले चुनाव जित्नेमा म ढुक्क छु ।

४. एमाले र मप्रति जनताको विश्वास छ

यहाँका सबै वौद्धिक वर्ग, आमाबुवा तथा दिदीबहिनीहरू र युवा वर्गका साथीहरूले मप्रति विश्वास गरेका छन् । उहाँहरूको सदभाव सूर्य चिन्ह र मप्रति छ । चितवनका विकराल समस्या छ । बाहिरबाट आएका उम्मेदवारले जनताको समस्यमा सुनुवाइ गरेनन् । त्यस्तै बाहिरबाट आएका सहकारीले चितवनका जनतालाई डुबाएका छन् । यस्ता कुरामा यहाँका जनताहरू सचेत छन् ।

५. महानगरमा विशेष अभियान चलाएका छौं

महानगर पालिकामा विशेष अभियान चलाउन सुरू गरिसकेका छौं । यो बीचमा हाम्रो आन्तरिक तयारी पनि पुगेको थिएन । जनताको एजेण्डा बोक्ने र समस्यासँग लड्ने पार्टी एमाले हो । जुन ढंगले जनताको समस्या र एजेण्डसँग म सक्छु, मेरा प्रतिस्पर्धीले सक्दैनन् भन्ने कुरा जनताले बुझेका छन् । महानगरमा भएको विशेष अभियानले हामी प्रतिस्पर्धीभन्दा माथि पुग्छौं । त्यसमा इन्छाकामना र कालिकाको भोटले योपटक जित्छौं । अपारदर्शी आर्थिक लेनदेन, नागरिकता काण्ड, पासपोर्ट काण्डका कारण उनी नाङ्गि सकेका छन् । रविसँग विकासको एजेण्डा नै छैन । यो क्षेत्रको बारेमा उनलाई कुनै ज्ञान छैन । जनताको समस्यासँग उनी एकाकार छैनन् ।