NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन् ।

कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गरे ।

‘भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नुहुनेछ’, नेता सिंहले भने ।

हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले जिकिर गरे ।नेता सिंहले सत्ता गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताए ।

‘गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ’, उनले भने । वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताए। गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उनले आफू त्यसैमा केन्द्रित भएको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष