NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चोरीको मोटरसाइकलसहित एकजना नियन्त्रणमा

काठमाडाैं । चोरीको मोटरसाइकलसहित काठमाडौँको तार्केश्‍वर नगरपालिका ४ लोलाङ हाईटबाट एकजनालाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटको लिखु गाउँपालिका २ घर भई हाल काठमाडौँको लोलाङ बस्दै आएका ३९ वर्षीय रमेश बहादुर राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ३ हैबुङ घर भई हाल काठमाडौँको थली बस्ने कृष्ण बहादुर तामाङले बागमती प्रदेश ०२-०१५ प १७ ७४ नम्बरको मोटरसाइकल महाराजगंजबाट बुधबार नै हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा फेला पारी मोटरसाइकल सहित राईलाई लोलाङ हाईटबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका राईलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागी प्रहरी वृत्त महाराजगंज पठाईसकेको जनाएको छ । ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयम् सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् । उनले सवारी चालक थप जिम्मेवार बनि सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगाएत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्न साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।