NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कांग्रेसमा मन्त्रालयको भागबण्डा मिल्यो, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । कम्तिमा तीन मन्त्रालय दाबी गरेको कांग्रेस कोइराला समूहले मन्त्रीको नाम नपठाउँदा सरकार पुनर्गठन भएको ११ दिन वितिसक्दासमेत मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले १७ चैतमा सातौंपटक मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । कांग्रेस, माओवादी, जसपा, नेकपा एस लगायत दलहरूलाई समेटेर १७ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । तर मन्त्रालय भागबण्डामा असहमति जनाउँदै जनमत पार्टीबाट मन्त्री भएका अब्दुल खानले राजीनामा दिए ।

८ मन्त्रालय पाएको कांग्रेसले संस्थापनपक्षबाट ४ जनालाई मात्र मन्त्री भए । यसअघि कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सहमहामन्त्री डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ मन्त्री भएका छन् । खड्का उपप्रधान तथा रक्षामन्त्री, महत अर्थमन्त्री, रिजाल उद्योगमन्त्री र गुरूङ सहरी विकास मन्त्री बनेका थिए।

सभापति शेरबहादुर देउवाले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम पठाउन निर्देशन दिएपछि बिहीबार बिहान कोइराला समूहको बैठक बस्यो । केन्द्रीय कार्यसम्पादनले तय गरेअनुसार मापदण्डमा केन्द्रित भई मन्त्री छान्ने सहमति भएका एक नेताले जानकारी दिए ।

सरकारबाट जनमत पार्टी बाहिरिएपछि कांग्रेसले थप एक मन्त्रालय दाबी गरेको छ । जपाले खानेपानी मन्त्रालय पाएकाे थियाे । उद्योग मन्त्रायल मागेको उसले नपाएपछि सरकारबाट बाहिरिएको हो । अब कांग्रेसले ९ मन्त्रालय पाउने नेता एनपी साउदले बताए । उनका अनुसार कोइराला समूहले मन्त्रीको नाम दिएमा एक/दुई कांग्रेस सरकारमा सहभागी हुनेछ ।

को–को बन्दैछन् मन्त्री ?

यसअघि संस्थापन पक्षबाट मात्रै मन्त्री भएका थिए । सभापति देउवाले तीन मन्त्रालय दिन सहमत भएपछि कोइराला समूहबाट उपसभापति धनराज गुरुङ, डीगबहादुर लिम्बू मन्त्री बन्ने लगभग पक्का भएका छन् । सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारमध्ये एकजनालाई मन्त्री बनाउने तयारी भएको छ ।

महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवा समूहबाट महामन्त्रीका उम्मेदवार रहेका प्रदीप पौडेललाई मन्त्री बनाउन लबिङ गरेका थिए । पौडेललाई मन्त्री बनाउन देउवाले सकारात्मक नभएपछि विकल्पमा पाण्डे र परियारमध्ये एक मन्त्री बन्ने सम्भावना रहेको एक नेताले बताए ।

‘हामीले एक राज्यमन्त्रीसहित तीन मन्त्री पाउने भएका छौं । तीमध्ये गुरुङ र लिम्बु मन्त्री बन्ने लगभग पक्का भएको छ । अर्को एक मन्त्रीमा पाण्डे, परियारसहित सुरेन्द्र आचार्यमध्ये एक जना हुन सक्छ । यद्यपि मन्त्री बन्ने आकांक्षी धेरै भएकाले अहिले नै यही हो भन्ने अवस्था छैन’, ती नेताले भने ।

यसैगरी संस्थापन पक्षबाट साउद र मोहनबहादुर बस्नेत मन्त्री बन्ने पक्का भएका छन् । माथि उल्लेख भएका नामबाट नै मन्त्री बन्ने लगभग निश्चित भएको नेता साउदले संकेत गरे ।

एक नेताका अनुसार साउद परराष्ट्र, बस्नेत स्वास्थ्य, लिम्बू कानुनमन्त्री बन्ने सम्भावना छ । तर साउदले आफूलाई जुन मन्त्रालयको जिम्मेवारी दिएपनि मन्त्री बन्न तयार रहेको बताए । कसले कुन मन्त्रालय पाउने भन्ने विषय आफूलाई थाहा नभएको उनले जिकिर गरे ।

१० पुसमा प्रधानमन्त्री भएका प्रचण्डले त्यसको भोलिपल्ट सानो आकारको मन्त्रीमण्डल गठन गरेका थिए । ३ माघ, १४ र २३ फागुन, १२, १४ र १७ फागुन गरी ७ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।