NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रहरीमा वेथिति, १४ हजार पहुँचका बलमा नियमविपरीत काजमा

काठमाडौं । नेपाल प्रहरीमा काजआतंक छ । ७९ हजार पाँच सय ४१ दरबन्दी रहेको प्रहरीमा झन्डै ४० हजार कर्मचारी दरबन्दीबाहिर छन् । २६ हजारजति संगठनकै आवश्यकताअनुसार काजमा खटिएको प्रहरीको दाबी छ । त्यसबाहेक पनि करिब १४ हजार कर्मचारी शक्ति र पहुँचका आधारमा नियमविपरीत आफूअनुकूल कार्यालयमा दरबन्दीबाहिर बसिरहेका छन् । यसले संगठनलाई नै अस्तव्यस्त बनाएको छ ।

संगठनलाई आवश्यक परेको अवस्थामा बढीमा ६ महिनाका लागि कर्मचारीलाई काजमा खटाउन सकिने प्रहरी नियमावली, २०७१ मा उल्लेख छ । तर, प्रहरी प्रधान कार्यालयले हालै गरेको अध्ययनले १४ हजार नियम मिचेर दरबन्दीबाहिर कार्यरत रहेको देखाएको थियो । जसमध्ये ६ हजार सात सय हेडक्वार्टरले नियमित गर्नुपर्ने अन्तरप्रदेश काजमा रहेका छन् । त्यस्तै, प्रदेश प्रहरी कार्यालयले रवाना गर्नुपर्ने करिब सात हजार प्रहरी काजमा रहेको नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले बताए ।

प्रहरी प्रधान कार्यालयका अनुसार अन्तरप्रदेशमा नियमविपरीत काज सबैभन्दा धेरै बागमती र लुम्बिनी प्रदेशमा छ । मंगलबारसम्मको तथ्यांकअनुसार बागमतीमा एक हजार ५०, लुम्बिनीमा आठ सय, उपत्यकामा सात सय ६७, मधेसमा पाँच सय ५०, कोसीमा चार सय ४२, गण्डकीमा चार सय ६६, सुदूरपश्चिममा तीन सय तथा कर्णालीमा एक सय ५० जना नियमविपरीत काजमा छन् । यो करिब एक हजार ६ सयलाई रवाना गरिसकेपछिको विवरण हो । मधेस र उपत्यकामा केही महिनाअघि मात्र रवाना गरिएकाले संख्या कम भएको हो ।

नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाबाट प्राप्त विवरणअनुसार तराई र उपत्यकाका जिल्लामा काजको समस्या धेरै छ । पहाडी जिल्लामा भने दरबन्दीभन्दा कम प्रहरी कार्यरत छन् । देशभर प्रहरीका तीन हजार सात सय ११ कार्यालय छन् । त्यसमध्ये दुई हजार ६ सय ६० स्थायी प्रहरी एकाइ हुन् । तत्काल आवश्यकताका आधारमा अस्थायी कार्यालय स्थापना गरी माथिल्लो प्रहरी कार्यालयबाट काजमा प्रहरी खटाएर चलाइएको छ । कतिपय कार्यालयमा भने आवश्यकताकै आधारमा दरबन्दीभन्दा धेरै खटिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा करिब तीन सय प्रहरीको दरबन्दी छ । त्यहाँ साढे चार सय कार्यरत छन् । त्यति हुँदा पनि अझै एक प्रहरीले दिनमा १२ घन्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेको एक अधिकारीले बताए ।

अनावश्यक काज र सरुवा कार्यान्वयन नहुँदा प्रहरीको ड्युटीमै असर पर्नुका साथै नियमित सरुवामा समेत समस्या आएको एसएसपी जिसीले बताए । त्यसलाई व्यवस्थित गर्न केन्द्रसँगै प्रदेशहरूलाई पनि ताकेता भइरहेको उनको भनाइ छ । ‘नियमविपरीत काजमा रहेका र रवाना नबुझेकालाई दरबन्दीमा पठाउने अभियान नै सुरु गरेका छौँ,’ सहप्रवक्ता जिसीले भने, ‘बुधबारसम्म करिब दुई हजार दुई सयजनालाई दरबन्दीमा पठाइसकेका छौँ, अरूलाई चरणबद्ध रूपमा पठाउने प्रक्रियामै छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।