NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल कनेक्सन’ : को किन पक्राउ परे ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी गिरोहसँग राजनीतिक र प्रशासनिक क्षेत्रका उच्च तहका व्यक्तिकै संलग्नता देखिएपछि थप रहस्य खुल्दै गएको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले चैतको पहिलो साता ठगी गिरोहका नाइके केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङलाई पक्राउ परेपछि ‘हाई प्रोफाइलहरू’को संलग्नता खुलेको हो ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, उनका छोरा निरज पनि सक्रिय रहेको कागजातबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

तत्कालीन गृहसचिवसमेत रहेका उपराष्ट्रपति कार्यालयका बाहालवाला सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेपछि ठगी धन्दामा गृहकै सहयोग रहेको देखिन्छ । यसलाई राजनीति संरक्षण दिने काम तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझीले गरेको देखिन्छ । रायमाझीविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । उनका छोरा सन्दीप रायमाझी हिजो बुटवलबाट पक्राउ परिसकेका छन् ।

ठगी धन्दामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापासमेत जोडिएका छन् । प्रतिकविरूद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । तत्कालीन गृहमन्त्रीका सल्लाहकार राई पक्राउ परेपछि पूर्वमन्त्री रायमाझी, उनका छोरा सन्दीप र सचिव पाण्डेविरूद्ध थप प्रमाण जुटेको उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

तेस्रो मुलुकमा पुनर्वासका लागि छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न केपी ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार, २०७६ मा गृहका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलले काम नसक्दै राजनीति संरक्षण प्राप्त गिरोहले झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाका प्रतिव्यक्ति १० देखि ५० लाखसम्म रकम उठाएको प्रहरीले जनाएको छ । ठगी प्रकरणमा राजनीति र प्रशासनिक क्षेत्रका उच्च व्यक्तिहरूकै संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान दायरा थप फराकिलो बनाउँदै लगेको छ ।

को किन पक्राउ परे ?

टोपबहादुर रायमाझी, पूर्वमन्त्री

अहिलेसम्म प्रहरीले प्राप्त गरेको प्रमाणको आधारमा गिरोहलाई राजनीति संरक्षण दिने काममा पूर्वमन्त्री रायमाझी सक्रिय रहेको देखिन्छ । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी हुँदा रायमाझी बुधबार सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि थिए । महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा गएका उनी पक्राउ पर्ने डरले काठमाडौं आएका छैनन् ।

तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायकसमेत रहेका गिरोह दुलालसँग रायमाझीको राम्रो सम्बन्ध रहेको बुझिएको छ । भण्डारी र पोखरेलले पनि उनीसँग राम्रै सम्बन्ध बनाएका थिए । त्यहि सम्बन्धका आधारमा रायमाझीले उनीहरूलाई राजनीतिक संरक्षण दिएका थिए । गृहमन्त्रालयले गठन गरेको कार्यदललाई हतियार बनाएर नक्कली भुटानी शरणार्थीलाई पुनर्वासका लागि अमेरिका पठाउने योजनामा रायमाझीले गिरोहलाई प्रत्यक्ष संरक्षण दिएको प्रहरीको दाबी छ ।

टेकनारायण पाण्डे, सचिव

राजनीति संरक्षणका लागि रायमाझीसँग निकट सम्बन्ध बनाएका दुलाल र भण्डारीले सचिव पाण्डेसँग पनि निकटता रहेको खुलेको छ । गृहसचिव हुँदा पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने आश्वासन पाण्डेले विचौलिया र पीडितलाई दिएका थिए । गिरोहमार्फत आफू ठगिएको गुनासो गर्दै आएका पीडितहरूसँग उनले ‘पैसा फिर्ता गर्न भण्डारीलाई भनिदिने’ आश्वासनसमेत दिएका थिए । तर गृह मन्त्रालयले अनुसन्धान अघि नबढाउन प्रहरीलाई निरन्तर दबाब दियो । त्यसकै लागि गिरोहले गृह प्रशासनलाई आर्थिक प्रभावमा पारेको थियो । भण्डारीले नै यस्तो बयान दिएपछि प्रहरी अनुसन्धान उच्चपदस्थसम्म पुगेको हो । तीन दिन प्रहरी हिरासतमा रहेका अहिले सिंहदरबारमा राखेर उनीमाथि अनुसन्धार जारी छ ।

इन्द्रजित राई पक्राउ, पूर्वसुरक्षा सल्लाहकार

तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार रहेका राईले गिरोहका स्वार्थअनुसार कार्यदल गठन गर्न पहल गरेको छ । विचौलिया भण्डारीको साथी गणेश केसीलाई कार्यदलको सदस्य बनाएको यस कार्यमा छारो निरजलाईसमेत संलग्न गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार राईले पटक–पटक गरी ५ करोडभन्दा बढी रकम असुल गरेका छन् । थापा २०७४ फागुन १४ गतेदेखि २०७८ जेठ ६ गतेसम्म गृहमन्त्री थिए । राईलाई प्रहरीले मंगलबार प्रक्राउ गरी अनुसन्धन प्रक्रिया अगाडि बढाएको छ । पक्राउ पर्ने डरले उनका छोरा निरज फरार रहेका छन् ।

ठगी धन्दामा नेताकै छोराहरू संलग्न

अख्तियार दुरूपयोग गरी तत्कालीन मन्त्री द्वय थापा र रायमाझीका छोराहरूले नै गिरोहका सदस्यका तर्फबाट मोटो रकम असुल गर्न भूमिका खेलेको प्रहरीले जनाएको छ । बुवा मन्त्री भएका बेला भनसुन गरी काम मिलाईदिने भन्दै थापाका छोरा प्रतिक र रायमाझीका छोरा सन्दीपले करोडौं रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ । ओली सरकारमा थापा गृहमन्त्री थिए भने रायमाझी उर्जामन्त्री थिए । विचौलियाको स्वार्थ अनुकुल काम गरेको आरोप लगाउँदै प्रतिक र सन्दीपविरूद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

सन्दीप भैरहवाबाट बिहीबार पक्राउ परेपनि प्रतिक फरार रहेका छन् । यी सबै तथ्य र प्रमाणको आधारमा गृहमन्त्रालयले गठन गरेको कार्यदलमाथि नै शंका उत्पन्न भएको छ । यसप्रकरणा अन्य उच्चस्थ पदाधिकारी र कर्मचारी तानिन सक्ने देखिएको छ ।