NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

टोपबहादुरविरूद्ध पक्राउ पुर्जी जारी गर्दा ओलीलाई किन भयाे तनाव ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि एमालेका शीर्ष नेताहरू निकै सक्रिय भएका छन् ।

यसप्रकरणका गिरोहलाई राजनीति संरक्षण दिएको आरोपमा रायमाझीसमेत मुछिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार अध्यक्ष ओली आफै सिंहदरबार हानिए ।

प्रधानमन्त्रीसँगको भेटवार्तामा उपप्रधानमन्त्रीसमेत भइसकेका वहालवाला सांसदलाई षड्यन्त्रपूर्वक राज्यले पक्राउ गर्न खोजिएकोमा ओलीले असन्तुष्टी जनाएका छन् ।

भेटवार्तापछि सञ्चारकर्मीलाई ओलीले दिएको प्रतिक्रियामासमेत प्रहरीको अनुसन्धान प्रक्रियामाथि आशंका झल्किन्थ्यो । प्रधानमन्त्रीलाई भेट्नुअघि प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरसँग टेलिफोन वार्ता गरेका उनले प्रहरी अनुसन्धानमाथि नै शंका गरेका हुन् ।

ओलीकाे असन्तुष्टी

‘पटक पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेका बहालवाला सांसद षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समानुपर्ने खालको विषय रहस्यपूर्ण छ’, उनले शंका व्यक्त गर्दै भने, ‘यसबारे मैले रायमाझी र प्रहरी प्रमुखसँग पनि बुझेको छु । वास्तविकता के हो भन्ने सम्बन्धमा थप अनुसन्धानपछि निष्कर्षमा पुग्ने छौं ।’

एमालेका नेताहरूले सामाजिक सञ्जालमा व्यक्त गरेका धारणामा पनि निर्दोष पर्न नहुने र दोषी उम्किन नहुने खालका रहेका छन् ।
एमालेका उपमहासचिव विष्णु रिजालले यसप्रकरणलाई राजनीतिकरण गर्न नहुने भन्दै दोषीउपर कारवाही गर्नुपर्ने बताए ।

‘नक्कली भुटानी शरणार्थी होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन, कोही दोषी नउम्किउन । छानबीन हुनुपर्छ, छानबीनमा सबैले सहयोग गर्नुपर्छ’, उनले लेखेका छन् ।

एमालेका शीर्ष नेताहरूले दोषीलाई कारवाही गर्नुपर्छ भनिरहँदा अध्यक्ष ओलीको अभिव्यक्ति अनुसन्धानलाई प्रभाव पार्ने हिसाबले आएको छ ।

जिल्ला अदालत काठमाडौंले बुधबार रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी भएपछि अनुसन्धान प्रक्रियालाई प्रभाव पार्ने खालको अभिव्यक्ति आएपछि यो प्रकरण थप रहस्यमय बन्दै गएको छ । बुधबार सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा गएका उनी पक्राउ पर्ने डरले काठमाडौं आएका छैनन् ।

तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायकसमेत रहेका गिरोह केशवप्रसाद दुलालसँग रायमाझीको राम्रो सम्बन्ध रहेको बुझिएको छ । भण्डारी र पोखरेलले पनि उनीसँग राम्रै सम्बन्ध बनाएका थिए । त्यहि सम्बन्धका आधारमा रायमाझीले उनीहरूलाई राजनीतिक संरक्षण दिएका थिए । गृहमन्त्रालयले गठन गरेको कार्यदललाई हतियार बनाएर नक्कली भुटानी शरणार्थीलाई पुनर्वासका लागि अमेरिका पठाउने योजनामा रायमाझीले गिरोहलाई प्रत्यक्ष संरक्षण दिएको प्रहरीको दाबी छ । यसप्रकरणमा रायमाझीका बाबु–छोरासहित पूर्वगृहमन्त्री एवं एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरासमेत मुछिएका छन् ।

टोपबहादुरका छोरा सन्दीपलाई पक्राउ गरी तीन दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको छ । थापाका छोरा पक्राउ पर्ने डरले फरार छन् । यस घटनामा पूर्वगृह सचिव रहेका उपराष्ट्रपति कार्यलयका सचिव टेकनारायण पाण्डे, तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा निरजलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

ओली १४ फागुन, २०७४ मा प्रधानमन्त्री हुँदा थापा गृहमन्त्री र रायमाझी उर्जामन्त्री मन्त्री थिए । थापाको सुरक्षा सल्लाहकारमा डा. इन्द्रजित राई थिए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले चैतको पहिलो साता ठगी गिरोहका नाइके केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङलाई पक्राउ परेपछि ‘हाई प्रोफाइलहरू’ को संलग्नता खुलेको हो । उनीहरूबाट बरामत गरेको प्रमाणको आधारमा प्रहरीले उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिलाई पक्राउ गरेका हुन् । आफ्नै क्याविनेटका वरिष्ठ मन्त्रीसमेत रहेका एमालेका उच्च नेता पक्राउ पुर्जी जारी भएपछि अनुसन्धान कार्यलाई प्रभावित पार्नका लागि ओलीले दबाब दिएको देखिन्छ ।

ओलीको आशंका किन ?

थापा र रायमाझी दुवैजना पूर्वमाओवादी पृष्ठभूमिका उच्च नेता हुन् । थापा माओवादी सशस्त्र विद्रोहका सैन्य योजनाकार हुन् । रायमाझी मुख्य नेता हुन् । माओवादी शान्ति प्रक्रियामा आएपछि थापा र रायमाझी माओवादीबाट पटक–पटक मन्त्री भएका थिए । रायमाझी २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा अर्घाखाँचीबाट लागातार विजयी भएका एक मात्र नेता हुन् ।

थापा २०६४ को निर्वाचनमा चितवन–४ बाट विजयी भएका नेता हुन् । २०६९ मा माओवादीबाट अलग भएर वैद्य समूहमा लागेका थापाले २०७० को निर्वाचन बहिस्कार गरेका थिए । २०७४ को निर्वाचनमा पुन : माओवादीमै फर्किका उनी राष्ट्रिय सभा सदस्य भएका थिए । मंसिरमा भएको निर्वाचनमा उनले भाग नै लिएनन् ।

२३ फागुन, २०७७ मा एमाले र माओवादीबीच पार्टी एकता भइ बनेको नेकपा विघटन भएपछि यी दुवै नेता एमालेमै बसेका थिए । उनीहरूलाई पार्टीमा फर्किन प्रचण्डले पटक–पटक आह्वान गरेका थिए । पार्टीको निर्णय नमानेपछि प्रचण्डले उनीहरूलाई पार्टी सदस्य र सांसद पदबाट मुक्त गरेका थिए । त्यसयता प्रचण्ड र पूर्वमाओवादी नेताहरूबीच सम्बन्धन राम्रो हुन सकेको छैन ।

१० पुसमा एमालेको प्रस्तावमा प्रधानमन्त्री भएका प्रचण्ड राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा एमाले सरकारबाट बाहिरिसकेको छ । अहिले गृहमन्त्रीमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् । एमालेमा गएका पूर्वमाओवादी नेतामाथि बदला लिन प्रधानमन्त्रीकै निर्देशनमा गृहमन्त्री श्रेष्ठले फाइल अगाडि बढाएको हुन सक्ने ओलीको आशंका रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष