NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री पक्राउ पर्दा टोपबहादुर कता छन् ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी धन्दामा तानिएका पूर्वगृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।

बुधबार काठमाडौं प्रहरी परिसरको टोलीले मैजुवहालस्थित खाँणको निवासबाट पक्राउ गरेको हो । यो प्रकरणमा मुछिएका खाँण अहिलेसम्मका उच्च व्यक्ति हुन् ।

ठगी प्रकरणमा समातिएका अभियुक्तहरूले उनको नामसमेत लिएपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धानका लागि खाँणलाई अदालतसमक्ष उपस्थित गराउने तयारी भएको प्रहरी उच्च अधिकारीले बताएका छन् । ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको सम्बन्धमा खाणपत्नी मञ्जुलाई समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सोही प्रकरणमा मुछिएका पूर्वमन्त्री एवं एमालेका सचिव टोपबहादुर रायमाझी फरार  छन् । वैशाख २० गते सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रम देखिएका रायमाझी भैरहवा विमानस्थलबाट बेपत्ता भएका हुन् ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीलाई टेलिफोन गरेर आफैँ प्रहरीसमक्ष उपस्थित हुने बताएका रायमाझी त्यसपछि फरार भएका हुन् ।

मंगलबार दिउँसो काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले ललितपुरको सातदोबाटोमा रहेको रायमाझीको घरमा छापा मारेको थियो। रायमाझीको लोकेसनबारे केही थाहा नभएको प्रहरी प्रवक्ता एवं एआईजी कुवेर कडायतले बताए ।

‘यो प्रकरणबारे काठमाडौं परिसरले अनुसन्धान जारी राखेको छ । हाल रायमाझीको अवस्थाबारे जानकारी प्राप्त भएको छैन’, उनले भने, ‘तर प्रमाण र तथ्यका आधारमा यो प्रकरणमा मुछिएका सबैलाई प्रहरीले अनुसन्धानको घेरामा ल्याउँछ ।’

रायमाझीलाई पक्राउ गर्न गृह मन्त्रालयले ७७ जिल्लामा परिपत्र जारी गरेको छ । उनको खोजीमा प्रहरी तीव्र रूपमा लागेको छ । तर, उनी कहाँ छन् भन्ने यकिन लोकेसन पत्ता लगाउन सकेको छैन ।

यसप्रकरणमा तानिएका वहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, उनका छोरा निरज, रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् ।