NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बालबालिकामा डेंगु : देखिन सक्छ फरक लक्षण, निको पार्न के गर्ने ?

काठमाडौं । मनसुन मौसममा ब्याक्टेरिया र भाइरल इन्फेक्सनसँगै लामखुट्टेबाट सर्ने धेरै रोगको चपेटामा मानिसहरू पर्छन् । यो मौसममा खासगरी डेंगुको संक्रमण हुने खतरा बढी हुन्छ । डेंगुबाट संक्रमित मानिसको संख्या धेरै हुने भएकाले अस्पतालमा यस्ता बिरामीको संख्या ज्यादा देखिन्छ ।

डेंगु एक घातक रोग हो । त्यसैले यसलाई सकेसम्म लाग्नै दिनहुन्न । कदाचित लागिहालेमा हेलचक्रयाइँ नगरी समयमा नै उपचार गरिहाल्नुपर्छ ।

डेंगु यो वा त्यो उमेर समूहकालाई मात्रै लाग्ने भन्ने छैन, सबै उमेर समूहका व्यक्तिमा यसको संक्रमण हुनसक्छ । तर प्रभावका हिसाबले यो बालबालिकामा छिटो देखिन सक्छ ।

डेंगुमा प्लेटलेट्स लगातार घट्न थाल्छ, जसले बिरामीलाई शिथिल पार्छ । डेंगुको लक्षण सामान्यतया २–७ दिनसम्म रहन्छ।

केटाकेटीहरू घरबाहिर पार्कलगायत स्थानमा खेल्न निस्किन्छन् । यसरी बाहिर लामखुट्टे भएका स्थानमा निस्किँदा बालबालिका सजिलै डेंगुको सिकार हुन सक्छन् । डेंगु संक्रमण भए पनि आत्तिहाल्नु भने पर्दैन । समयमै चिकित्सकको सम्पर्कमा पुगेर परामर्शअनुसार उपचार गरेमा यो निको हुन्छ ।

बालबालिका डेंगुबाट संक्रमित हुँदा देखिने लक्षण

डेंगु संक्रमित बच्चा र वयस्कमा लक्षणहरू फरक हुन्छन् । वयस्क व्यक्तिमा कडा लक्षण देखिए पनि बच्चामा प्रायः हल्का देखिन्छ ।

शिशु र बालबालिकामा डेंगुको लक्षण भाइरल फ्लूसँग मिल्दोजुल्दो हुन्छ।

बच्चाहरूलाई ज्वरो आउने र यो क्रम एक सातासम्म कायम रहन सक्छ ।

डेंगुले चिडचिडापन, अल्छीपन, गिजा वा नाकबाट रगत बग्ने, छालामा दाग र दिनमा तीन पटकभन्दा बढी बान्ता हुनसक्छ।

डेंगुमा बालबालिकालाई केही समयसम्म उच्च ज्वरो आउन सक्छ।

ठूला बच्चाहरूले आँखा दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने र कडा टाउको दुख्ने गुनासो गर्न सक्छन्।

उपचार

यदि तपाईंको बच्चालाई ज्वरो छ भने तुरुन्तै डाक्टरलाई देखाउनु उपयुक्त हुन्छ ।

डेंगु र चिकनगुनियाका लक्षणहरू समान हुन्छन्, त्यसैले डाक्टरले डेंगु पत्ता लगाउन रगत परीक्षण गर्न सिफारिस गर्न सक्छन्।

डेंगुको उपचारका लागि डाक्टरहरूले ज्वरो कम गर्न प्यारासिटामोल दिन सक्छन् वा जोर्नी दुख्ने र ज्वरो कम गर्न केही औषधि दिन सक्छन्।

डेंगुमा प्लेटलेट्सको मात्रा घटेर रगत बग्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा बालबालिकालाई कुनै पनि प्रकारको इन्फ्लेमेटरी औषधि वा आइबुप्रोफेन दिनुहुँदैन।

 बच्ने उपाय

बालबालिकालाई डेंगुबाट जोगाउन वर्षायाममा घरबाट बाहिर नलैजाने ।

मनसुनमा बालबालिकालाई पूरै बाहुला भएको लुगा लगाइदिने ।

घर सफा राख्ने । लामखुट्टे निरोधक औषधि प्रयोग गर्ने ।

साँझमा झ्याल र ढोका बन्द राख्ने ।

घर वरिपरि रहेका खाल्डाखुल्डीमा पानी जम्मा गर्दा लामखुट्टे फैलने भएकाले सावधानी अपनाउने ।

एजेन्सीको सहयोगमा