NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

‘श्रीमानलाई उपहार दिने सपना अधुरै’

काठमाडौं । चलचित्रमा कथा लेखिन्छ र त्यसलाई पटकथामा रूपान्तरण गरेपछि छायाङ्कन सुरु हुन्छ । लेखकले पात्र र त्यसको पहिचान, आवरण र समाज निर्माण गरेपछि आरोहअवरोहलाई चलचित्रको शैलीमा तयार पारेर पर्दामा प्रस्तुत गरिन्छ ।

तर पर्दा बाहिर घट्ने केही घटनाक्रम चलचित्रभन्दा कम लाग्दैनन । जेठको पहिलो साता प्रदर्शनमा आउने चलचित्र ‘ए साथी सुन’ की निर्मात्री विना कार्कीको जीवनी चलचित्रको कथा झैँ छ । फरक क्षेत्रमा रहेर कर्म गरिरहेकी उनले यो चलचित्र आफ्नो श्रीमानलाई ‘उपहार’ दिन निर्माण गरिन् ।

चलचित्रबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रभन्दा कार्कीको कथाले उपस्थितलाई मर्माहत बनायो । तर जानकारी नदिई उपहार दिने उनको सपना अधुरै रह्यो । कोरोना भाइरसका कारण निर्मात्री कार्कीले श्रीमानलाई गुमाउनु प¥यो । ‘श्रीमानलाई जानकारी नदिई निर्माण गरेँ । तर भन्नसमेत पाइनँ ।यद्यपि उहाँको यादमा तयार गरेको चलचित्र अहिले प्रदर्शनको तयारीमा छ’, उनले भनिन् ।

श्रीमान् श्रव्यदृश्यप्रति आकर्षित र आफ्नो सन्तानलाई कलाकार देख्न चाहना राखेको जानकारी पाएकी कार्कीले चलचित्रमा छोरा इभानलाई अभिनयको अवसर दिएकी छन्।

‘चलचित्र हामीले निर्माण गरेका हौँ भन्ने थाहा थिएन । तर छोरालाई अभिनय गराएको भन्ने जानकारी दिएकी थिए । उहाँ निकै खुसी हुनुभयो’, निर्मात्री कार्कीले भनिन् । व्यवसायका कारण संयुक्त अरब इमिरेटस्को दुबईमा बसोबास गरिरहेकै कारण नेपालमा कोरोना महामारीका बेला  उनीहरू अलग भए । निर्मात्री कार्की छोरा लिन नेपाल आएको समयमा लकडाउनका कारण यही बस्नु प¥यो । ‘अन्तिम समयमा उहाँलाई देख्न समेत पाइनँ । अहिले मैले किन भनिनँ भन्ने पनि लाग्छ’, उनले भनिन् ।

चलचित्रमा सम्पूर्ण समूह नै नयाँ छन् । नयाँलाई चलचित्र बनाउन झैँ प्रदर्शन गर्न पनि सहज नरहेको निर्देशक राम राघव आचार्यले बताए। ‘चलचित्र बनिसकेपछि प्रदर्शन गर्न सहज छैन । नयाँ समूहलाई जसरी कलाकारले बुझ्दैनन्, प्रदर्शनमा पनि त्यस्तै हुन्छ’, उनले भने । नेपालमा केही साङ्गीतिक भिडिओ र छोटा चलचित्रमा काम गरेपछि उनले भारतमा अभिनय र निर्देशनको शिक्षासमेत लिइन् ।

त्यहाँ केही टेलिचलचित्रमा काम गरेपछि कोरोना भाइरसका कारण भएको पहिलो लकडाउनमा कार्की नेपाल आएकी थिइन् । ‘नेपाल आएपछि बसाइका क्रममा लेखेको कथालाई सुनाएपछि चलचित्र निर्माण गर्ने निर्णय लिएका हौँ । यसको नाम कलिपुरुष राखेका थियौँ । किनकि मानवद्वारा भइरहेको गलत क्रियाकलापको कथा प्रस्तुत गरेका छौँ’, निर्देशक आचार्यले भने ।

प्रेमकथानक थ्रिलर विधामा निर्माण भएको चलचित्रमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् ।