NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

स्वास्थ्यकर्मीको भरमा थवाङका वडा कार्यालय

रोल्पा । रोल्पाको एक गाउँपालिकाको सबै वडा कार्यालय प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन् । जिल्लाको थवाङ गाउँपालिकाका सबै वडा कार्यालय स्वास्थ्यकर्मी र कृषि प्राविधिकको भरमै सञ्चालन भइरहेका हुन् ।

पाँचवटा वडा रहेको गाउँपालिकामा चारवटा वडामा स्वास्थ्यकर्मी र एउटा वडामा कृषि प्राविधिकले वडा सचिवको काम गर्दै आएका छन् । गाउँपालिकाको वडा नं १ मा एचए, वडा नं २ मा कृषि शाखाका प्राविधिक कर्मचारी, वडा नं ३ मा अनमी, वडा नंं ४ र ५ मा अहेवले वडा सचिवको काम गरिरहेका छन् ।

थवाङ गाउँपालिकाको वडा नं १ र २ साविक थवाङ गाविस, वडा नं ३ साविक मिरुल गाविस र वडा नं ४ र ५ साविक उवा गाविस पर्दछन् ।स्वास्थ्यकर्मी र कृषि प्राविधिकले वडा सचिवको काम गर्दा सेवा प्रवाह राम्रो नभएका वडा अध्यक्षहरुको गुनासो छ ।

‘प्रशासनिक ज्ञान भएका वडा सचिवको साटो प्राविधिक ज्ञान भएका स्वास्थ्यकर्मी र कृषि प्राविधिकबाट गुणस्तरीय सेवा प्रवाह हुने कुरै भएन’, थवाङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष हीराप्रसाद बुढामगरले भने ।

उनले पटक-पटक माग गर्दा पनि प्रशासनिक कर्मचारी उपलब्ध नभएपछि प्राविधिक कर्मचारीको भरमा वडा कार्यालय सञ्चालन गर्न बाध्य भएका छौँ, प्राविधिक कर्मचारीलाई वडा सचिवको काम दिँदा प्राविधिक काम पनि प्रभावित भएको बताए । ‘थवाङ गाउँपालिकामा कर्मचारी आउन नमान्ने, आए पनि छिट्टै सरुवा भएर जाने कारणले वडाको काम प्राविधिक कर्मचारीबाट गराउन बाध्य भएका छौँ’, थवाङ गाउँपालिका–४ का वडाध्यक्ष हिक्मत घर्तीमगरले भने ।

वडा कार्यालयको कामलाई गुणस्तरीय बनाउन प्रशासनिक कर्मचारी उपलब्ध गराइदिन पटक-पटक माग गरेपनि सुनुवाइ भएको छैन घर्तीमगरले गुनासो गरे । एउटा सेवाको कर्मचारीले अर्को सेवाको काम गर्दा काम गुणस्तरीय नहुनुको साथै दुवैतर्फ असर गर्ने वडाध्यक्ष घर्तीमगरको भनाइ छ ।

थवाङ जनसंख्या र क्षेत्रफल दुवै हिसाबले जिल्लाकै सबभन्दा सानो स्थानीय तह हो । जिल्लाकै दुर्गम मानिने सो गाउँपालिका जिल्ला सदरमुकाम लिवाङवाट २८ कोश उत्तरमा पर्दछ । दुर्गम भएका कारण सो गाउँपालिकामा कर्मचारी हत्तपत्त जान मान्दैनन् ।