पाँचखाल खानेपानी आयोजना : सात हजार घरमा पानी पुर्याइने

काभ्रे । सात हजार घरमा खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ ।
विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र सो कार्य सम्पन्न हुने भएको छ । विसं २०७६ भदौमा सम्झौता गरिएको सो आयोजनाको काम २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो ।
कोरोना महामारीलगायत कारणले सामग्री अभाव भएपछि एक वर्ष म्याद थपिएको हो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा २०७९ सालभित्र काम सक्ने उल्लेख गरेको थियो । नगरको १३ मध्ये १० वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ एक अर्ब ३४ करोड ६६ लाखमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको हो ।
आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन् । प्रतिउपभोक्ता परिवारले खानेपानी आयोजनाको बैंक खातामा १८ हजार जम्मा गरेका छन् । हाल आयोजनाको काम ८५ प्रतिशत सकिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए ।
‘केही स्थानमा पानी परीक्षण समेत गरिएको छ’, उनले भने । दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने बताइएको छ । आयोजना लागू भएको क्षेत्रमा हाल छ हजार ३७ धारा जडान हुने भएका छन् । हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ ।
अध्यक्ष लामिछानेले आयोजनामा हाल दैनिक एक सय ३० कामदार खटिएको बताए । पाँचखालमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्याउने काम भइसकेको छ । करिब चार हजार घरमा धारा जडानको काम सकिएको लामछिानेले बताए ।
ताजा अपडेट
-
आगामी आर्थिक वर्षको बजेट आज
-
उपराष्ट्रपतिको शुभकामना सन्देश – कमीकमजोरी सच्याउँदै प्रगति पथमा लम्कनुको विकल्प छैन
-
जनतालाई गरिएको वाचाबारे आत्मसमीक्षा गर्न जरुरी छ : राष्ट्रपति पौडेल
-
लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव : प्रधानमन्त्री दाहाल
-
आज गणतन्त्र दिवस, सैनिक मञ्चमा विशेष समारोह आयोजना हुँदै
प्रतिक्रिया