NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
सम्भावना

झिँगा पालेर पनि मनग्य आम्दानी, महावीरले बीउ र तालिम निःशुल्क दिने !

काठमाडौं । झिँगा भन्नेबित्तिकै तपाईं–हामी जोसुकैको मुख खुम्चिन्छ । फोहोरीको राजा झिँगाले खानालगायतमा बसेर विभिन्न किसिमका जीवाणु हाम्रो शरीरमा सारिदिँदा संक्रमण भइराखेको हुन्छ ।

एक किसिमले झिँगा मानिसको सत्रु नै हो भन्दा पनि हुन्छ । मानव जीवनमा यसले नोक्सानी नै नोक्सानी मात्र गरेको तपाईं हाम्रो जानकारीमा छ । तर सबै झिँगा नोक्सान गर्नेखालका मात्र नहुँदा रहेछन् । कतिपय झिँगाबाट आयआयर्जसमेत गर्न सकिने रहेछ ।

सुन्दा अनौठो लाग्न सक्छ, वैज्ञानिक खोज तथा अनुसन्धान गर्दै आइरहेको राष्ट्रिय आविष्कार केन्द्रले मानिसलाई सताउँदै आएको झिँगाको बीउ निःशुल्क वितरण गर्दैछ । यति मात्र होइन, झिँगा पाल्न तालिमसमेत दिँदैछ ।

राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले सामाजिक सञ्जालमार्फत झिँगाको बीउ चाहिनेहरूलाई सम्पर्क गर्न आग्रह गरेका छन् । उनका अनुसार, केन्द्रले बीउसँगै झिँगा  पाल्ने तालिमसमेत निःशुल्क दिनेछ ।

केन्द्रले प्रवर्द्धन गरिरहेको झिँगा तपाईं हाम्रो घरवरपर पाइने सामान्य खालको नभएर ब्लाक सोल्जर फ्लाई नामक हो । यसको लार्भा कुखुरा, माछालगायतको प्रोटिनयुक्त दाना बनाउन प्रयोग गर्ने गरिन्छ ।

पुनका अनुसार, विश्वका विकसित मुलुककहरूले यो झिंगा पालेर वार्षिक करोडौं डलरको व्यापार गर्ने गरेका छन् । पुनका अनुसार, कुनै नेपालीले सो झिँगा पालेर आयआर्जन गर्न चाहेमा केन्द्रले तालिमसमेत दिनेछ । यसरी तालिम लिएबापत कुनै शुल्क तिर्नुपर्दैन ।

राष्ट्रिय आविष्कार केन्द्रले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई चार वर्षअघि यसको अनुसन्धानको लागि ९ लाख रूपैयाँ सहयोग गरेको थियो । अनुसन्धान सफल भए पनि सो टिमले लामो समय काम गरेन । त्यसपछि विगत २ वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र आफैंले त्यो झिँगाको बीउ निःशुल्क वितरण गरिरहेको पुनले जानकारी दिए ।

सो झिँगा कुखुराको दानामा २५ प्रतिशत जति मिसाएर खुवाएमा किसानलाई धेरै नै फाइदा हुने पुन बताउँछन् । उनका अनुसार, यो झिँगाले पानी मात्र र लार्भाले फोहोर मैला खाने भएकाले उत्पादन खर्च लाग्दैन । लार्भाले फोहोर मैलालाई कम्पोस्ट मल बनाइदिने भएकाले त्यसबाट पनि फाइदा लिन सकिन्छ ।