NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पशु चिकित्सकको छाता संगठन एनभिएमा नयाँ नेतृत्व

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को अध्यक्षमा डा. रामकृष्ण खतिवडा विजयी बनेका छन् । शनिबार सम्पन्न निर्वाचनमा आफ्ना प्रतिस्पर्धी डा. कृष्ण काफ्लेलाई पराजित गर्दै डा. खतिवडा आगामी दुईवर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

निर्वाचित खतिवडाले ३८० मत हासिल गर्दा उनका प्रत्यासी काफ्ले २६५ मतमा रोकिए ।

एनभिएको नेतृत्वमा डा. खतिवडाको यो दोस्रो इन्ट्री हो । यसअघि उनले एक कार्यकाल पशु चिकित्सकहरूको छाता संगठन एनभिएको नेतृत्व गरेका थिए । अब उनले आगामी दुई वर्ष यो संगठनको नेतृत्व गर्नेछन् ।

उपाध्यक्षमा डा. अर्जुन अर्याललाई पछि पार्दै डा. अशेष भट्टराई विजयी भएका छन् । महासचिवमा डा. केदार सुवेदी विजयी भए । डा. योगेन्द्रराज पन्तलाई परास्त गर्दै सुवेदी महासचिवमा विजयी भएका हुन् ।

सचिवमा डा हरि पन्तलाई परास्त गर्दै डा. शंकर न्यौपाने विजयी भएका छन् । डा. न्यौपानेले ३७६ मत हासिल गर्दा पन्तले २६९ पाए ।

त्यसैगरी, कोषाध्यक्षमा डा. शीकेष मानन्धर, प्रधान सम्पादकमा डा. नारायण पौडेल निर्वाचित भए । मानन्धर प्रतिस्पर्धा गरेर निर्वाचित भए पनि पौडेल निर्विरोध भएका हुन् ।

६ सदस्यका लागि भएको निर्वाचनमा डा. नवीन पन्थी, डा. सुमित शर्मा, डा. सत्रुघन शाह, डा. मलिशा श्रेष्ठ, डा. निकेष खनाल र डा. लोकेन्द्र न्यौपाने विजयी भएको निर्वाचन समितिले जनाएको छ ।