NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

उपराष्ट्रपतिको शुभकामना सन्देश – कमीकमजोरी सच्याउँदै प्रगति पथमा लम्कनुको विकल्प छैन

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको आहुति दिने अमर सहिदहरूप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, “ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेस जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको सङ्घर्षहरूमा सहभागी भई घाइते र अङ्गभङ्ग भएका सबैप्रति उच्च सम्मान र आभार प्रकट गर्दछु । साथै, यी आन्दोलन र सङ्घर्षहरूको अगुवाइ गर्ने अग्रज नेताहरू, जनसमुदाय, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको उच्च सम्मानसहित उच्च प्रशंसा गर्दछु ।”

उनले नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता र कानूनी राज्यलाई अङ्गीकार गरेको बताएका छन् । यसैका आधारमा नेपालको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, शासन र प्रशासनमा सिङ्गो मुलुकभित्रको बहुरूप र विविधता झल्किने प्रारूप एउटा साझा चौतारी र फूलबारी झैं देख्न सकिरहेको सन्देशमा उल्लेख छ ।

उनले यसलाई थप परिष्कृत, सु–संस्कृत, मर्यादित, रूपान्तरित र व्यवस्थित गर्नुपर्ने कर्तव्य, दायित्व र जिम्मेवारी हामी सबैको काँधमा आइपरेको स्मरण गराए । “विविधतामा एकता हाम्रो मौलिक राष्ट्रिय पहिचान हो । गणतन्त्र दिवसलाई सबैले देशको संविधानको सुरक्षासँगै गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिता, समानता, समाजवाद तथा मुलुकको समरसता एवं शान्ति र विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्दछ”, उनले भनेका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्, “हाम्रो गणतान्त्रिक संवैधानिक व्यवस्था प्रणालीले बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण मात्र गरेको छैन, सबै क्षेत्र, भूगोल, सम्प्रदाय, धर्म, संस्कृतिलाई जोड्ने काम पनि गरेको छ । पूर्व–पश्चिम, मधेस, पहाड र हिमाललाई एकताको सूत्रमा बाँध्ने काम पनि यसले गरेको छ । यसभित्र सङ्घीयता, समावेशिता र समानतामार्फत सबै क्षेत्र, भूगोल र तप्काले आ–आफ्नो अधिकारको उपयोग गर्दै नेतृत्व र प्रतिनिधित्व गर्न सफल भएकामा म खुसी व्यक्त गर्न चाहन्छु । ”

उपराष्ट्रपति यादवले कमीकमजोरीहरूलाई सच्याउँदै प्रगति पथमा निरन्तर लम्कन र अग्रगमन उन्मुख हुनु निर्विकल्प रहेकोमा जोड दिएका छन् । लोकतान्त्रिक गणतन्त्र भनेकै जनताको सामूहिक भावनाको सम्मान र कदर गरी राष्ट्रलाई समुन्नतिको मार्गमा अघि बढाउने उत्कृष्ट व्यवस्था भएको उनको भनाइ छ ।

उनले भने, “यो व्यवस्थाप्रति जनताको विश्वास जगाउन हामीले असल काम, सुशासन, रोजगारीका अवसर र मुलुकलाई समुन्नत बनाउने मार्गचित्रका साथ अघि बढ्नै पर्दछ ।”