NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

चलचित्र ‘ह्यासट्याग माया’ को छायाङ्कन सुरु

काठमाडौं । ‘थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ को छायाङ्कन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा केही दृश्यलाई खिच्दै सुरु गरिएको छ ।

चौध दिनको तालिका तय गरिएको चलचित्रको छायाङ्कन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए ।  ‘नेपालको सुन्दरतालाई चलचित्रमार्फत प्रवद्धन गर्नुपर्छ भनेर बर्दियाबाट छायाङ्कन प्रारम्भ गरेका हौँ । दुई साता यहाँको रमणीयस्थलमा छायाङ्कन गर्नेछौँ’, उनले भने। यसै चलचित्रमार्फत निर्देशनको सुरुआत गरेका निर्देशक राजीव गुरुङले कथाअनुसार नै बर्दिया रोजिएको जानकारी दिए ।

‘विधा थ्रिलर भएता पनि पूर्ण मनोरञ्जक चलचित्र बन्ने छ । प्रस्तुतीकरणमा विशेष ध्यान दिइरहेको छु’, उनले भने । चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिङ्ह, सुदाम सिकेलगायतको अभिनय रहेको छ । यसको छायाङ्कन काठमाडौँ र धरानमा समेत गरिनेछ ।

शर्मिला थापाको निर्माण रहेको चलचित्रको कथा मायामै केन्द्रित छ । यसमा शीर्ष भूमिका निर्वाह गरेकी अभिनेत्री श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् । ‘चरित्र निर्माणमा समय खर्चिएकी छु । किनकि यसले हामीलाई चरित्रप्रति इमान्दार बनाउँछ । चलचित्रलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ’, अभिनेत्री श्रेष्ठले भनिन् ।

रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायाङ्कन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृङ्गार रहेको छ ।