NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दिल्लीमा कूटनीतिक व्यवस्थापन छताछुल्ल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किसकेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भएको उनको भ्रमण उपलब्धिमूलक भयो वा भएन भनेर समीक्षा भइरहेका छन् । तर, यो भ्रमणले नेपालको कूटनीतिक संयन्त्र कति भद्रगोल छ भन्ने छर्लंग पारिदिएको छ ।

प्रधानमन्त्री दाहालको भ्रमणमा ५ मन्त्रीसहित १ सय २२ जनाको टोली भारत पुगेको थियो । यति ठूलो टोली आवश्यक थिएन भन्ने भ्रमणकै परिदृश्यले देखाएका छन् । परराष्ट्र मन्त्रालयले स्पष्ट योजनाका साथ अडान लिन सकेको भए भ्रमण टोली छरितो बन्न सक्थ्यो । प्रधानमन्त्री र मन्त्रीहरूले त आफूनिकटलाई साथमा लान सधैं बल गरिरहेकै हुन्छन् । परराष्ट्र मन्त्रालयका र प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले राजनीतिक नेतृत्वबाट आएका जुनसुकै नामलाई पनि सदर गरिदिँदा भ्रमण टोली ठूलो बन्न गयो ।

भ्रमण टोलीमा को रहने, उनीहरूको भूमिका कहाँ कस्तो हुने भन्नेबारेमा परराष्ट्र मन्त्रालयले कूटनीतिक ब्रिफिङ नगरेको देखियो । प्रधानमन्त्री भ्रमणमा निस्कनुअघिसम्म परराष्ट्र मन्त्रालयले अन्तिम सूची तयार पार्नसमेत हम्मेहम्मे परेको थियो । भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र उद्योग, वाणिज्यमन्त्री रमेश रिजाल सामेल थिए । तर, उनीहरूको भूमिका के रह्यो भन्ने दिल्ली पुगेका धेरैले थाहा पाएनन् । परराष्ट्रमन्त्री साउदले नै दिल्ली पुगेका मन्त्रीको भूमिका प्रस्ट पार्न सकेनन् । हरेक विषयमा प्रधानमन्त्री दाहाल आफैं भिडेजस्तो देखियो । मन्त्रीहरू आआफ्नै सुरमा टहलिरहेका देखिन्थे ।

दिल्ली भ्रमणमा सहकार्य र संयोजनको अभाव देखियो । भ्रमण टोलीका सदस्यमध्ये कोही काम नपाएर होटलका लबीमा देखिन्थे भने कोही बजारमा घुमिरहेका हुन्थे । प्रधानमन्त्री दाहालले बिहीबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरिरहेका बेला नेपाली प्रतिनिधिमण्डलका केही सदस्य त सेल्फी खिच्नमा तल्लीन रहे । भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य त्यत्तिका मन्त्री र अन्य सदस्य भ्रमण टोलीमा रहेकामा अचम्म मान्छन् । ‘भ्रमणको बेला हाम्रो यो कस्तो व्यवस्थापन हो ? यसले के सन्देश दिन खोजेको हो, थाहा पाउनै सकिएन,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयले यसरी व्यवस्थापन गर्न नसक्नुको कारण मैले बुझ्न सकेको छैन ।’

प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्न भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रा बुधबार बेलुकी आईटीसी मौर्या होटलमा आउँदा परराष्ट्र नेतृत्व (परराष्ट्रमन्त्री साउद र सचिव भरतराज पौड्याल), दिल्लीस्थित नेपाली दूतावास, पूर्वपरराष्ट्र सचिवसमेत रहेका मुख्यसचिव शंकरदास बैरागीको लापरबाही सार्वजनिक रूपमै छताछुल्ल भयो । भेटवार्ता हुँदा एकातिर प्रधानमन्त्री दाहाल र उनकी छोरी एवं स्वकीय सचिव गंगा दाहाल बसेका थिए भने अर्कातर्फ डोभाल र क्वात्रा थिए ।

भेटवार्तामा क्वात्राले टिपोट गरिरहेको र नेपालतर्फ भने कसैले पनि टिपोट नगरेको तस्बिर सार्वजनिक भएको छ । ‘डोभाल मात्र आउने कार्यक्रम थियो तर क्वात्रा पनि आइहाले,’ प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने, ‘तर त्यस बेला दाहालसँग परराष्ट्र मन्त्रालयका प्रतिनिधि, परराष्ट्र सचिव, मुख्यसचिव, दक्षिण एसिया महाशाखा प्रमुख वा नेपाली दूतावासका प्रतिनिधि पनि थिएनन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।