NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेसको बलियो प्रभाव रहेको विराटनगरमा डिला संग्रौला बन्लिन् मेयरको उम्मेदवार ?

काठमाडौं । सत्ता गठबन्धन दलबीच ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिका भागबण्डा गरेपछि अब यिनीहरूमा को उम्मेदवार उठ्छन् भन्नेमा चासो देखिन थालेको छ । भोलिसम्ममा उम्मेदवारको टुंगो लगाउने गरी दलहरू छलफलमा जुट्दै गर्दा कांग्रेसको बलियो प्रभाव रहेको विराटनगरमा डिला संग्रौलाको चर्चा चल्न थालेको छ।

६ महानगरपालिकामध्ये सत्ताको नेतृत्वकर्ता दल कांग्रेसले काठमाडौ, ललितपुर र विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार पाएको छ ।

यी तीनमध्ये ललितपुर र विराटगर २०७४ सालको निर्वाचनमा कांग्रेसले जितेका महानगरपालिका हुन् । काठमाडौंमा अघिल्लोपटक मेयर एमाले र उपमेयर कांग्रेसले जितेका थिए ।

यसपटक कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको हो । यसले गर्दा गठबन्धनलाई अघिल्लोपटकभन्दा यसपटक झन् बलियो बनाएको छ ।

यसै क्रममा कांग्रेसको बलियो प्रभाव रहेको विराटनगरमा को मेयरको उम्मेदवार बन्छ भन्नेलाई पनि उत्तिकै चासोपूर्वक हेरिएको छ । विराटनगरमा मेयर कांग्रेस र उपमेयर जसपाले पाएका छन् । विराटगरबाट यसपटक केन्द्रीय राजनीतिक प्रभाव भएकी डा. डिला संग्रौला, केन्द्रीय सदस्य अमृत अर्याल, मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चौलागाईं र प्रदेश समिति सदस्य गोपाल रेग्मी सिफारिसमा परेका छन् ।

तर यसपटक महानगरमा मेयरमा उम्मेदवारको लागि डा. संग्रौला सबैभन्दा बलियो उम्मेदवार रहेको बताइन्छ । पार्टी केन्द्रमा पनि राम्रो पहुँच भएकी, सक्रिय र अनुभवी नेता भएकोले पनि डिलाको सम्भावना बढी भएको बताइन्छ । लगातार सांसद भए पनि डिलालाई पार्टीले अहिलेसम्म मन्त्री बनाएको छैन । १४ औं महाधिवेशनमा सहमहामन्त्रीको दाबेदार भए पनि डिलालाई रोकिएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाले कुनै राम्रो भूमिका दिनेभन्दा डिलालाई मनाएका थिए । महिला संघको अध्यक्ष हुनुबाहेक डिलाले कुनै कार्यकारी पद नपाएकोले पनि यसपटक आफ्नै बलियो पकड रहेको क्षेत्रबाट उनैलाई मेयरको उम्मेदवार बनाउने सम्भावना धेरै रहेको बताइन्छ । डिलालाई संस्थापन र इतर दुवै पक्षकाे साथ छ ।

उनी आफैं पनि आफू मेयरका लागि सक्षम र योग्य रहेको बताउँछिन् ।

‘मसहित धेरै साथीहरू मेयरको लागि सिफारिस हुनुहुन्छ’ डिलाले नेपालवाचसँग भनिन्, ‘यो पटक पार्टीको स्थानीय तहमा आएर सेवा गर्नुपर्छ भन्ने भएर मैंले मेयरमा आकांक्षा राखेको हुँ । म यो पदका लागि योग्य र सक्षम छु ।’

पार्टीले मेयर दिए विराटनगरवासीले आफूलाई जिताउने र महानगरलाई नमूना बनाउने योजना र क्षमता आफूसँग भएको उनको भनाई छ ।

तीन जनाबीच टक्कर

बलियो सम्भावना संग्रौलाको भए पनि मेयरका लागि भीम पराजुली र अमृत अर्याल पनि उत्तिकै दाबेदार हुन् । तीनमध्ये पराजुली र अर्याल विराटनगरमा नै बसेर राजनीति गरेका नेता हुन् । संग्रौलाको घर विराटनगर भए पनि उनी केन्द्रीय राजनीतिमा बढी सक्रिय रहँदै आएकी छिन् । तर उनी नियमितजसो विराटनगर पुग्ने गरेकी छिन् । उनको बढी समय विराटनगरमा नै बित्ने गरेको छ ।

विराटनगर मेयरकाे उम्मेदवारकाे लागि यी हुन् कांग्रेसबाट सिफारिस ७ नेता ? कसले मार्ला बाजी ?

यस्तो छ विराटनगरको गत निर्वाचनको नतिजा

विराटनगरमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका भीम पराजुली ५७१० मतान्तरले विजयी भएका थिए । पराजुलीले २३०३१ मत ल्याएका थिए । पराजित एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याए । संघीय समाजवादी फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए । अहिले कांग्रेस, माओवादी र जसपा मिलेर चुनाव लड्दै छन् ।

मेयरमा कांग्रेस र उमपेयरमा जसपाका उम्मेदवार हुनेछन् । मेयर र उपमेयर दुवैम माओवादीका उम्मेदवार हुने छैनन् । गत निर्वाचनमा विराटनगरमा एमाले र लोकतान्त्रिक फोरम मिलेका थिए । माओवादी र जनअधिकार फोरम मिलेका थिए । कांग्रेसले मेयर उपमेयर दुवैमा जित्दा अनअधिकार फोरमसँग मिलेको माओवादीले उपमेयरमा ११५२४ मत ल्याएको थियो ।

एमालेसँग मिलेको लोकतान्त्रिक फोरमको कांग्रेससँग एकीकरण भइसकेको छ । उपेन्द्र यादवको जसपा पनि सत्ता गठबन्धनमा छ । यस्तोमा विराटनगरमा गठबन्धनलाई हराउन एमालेलाई निक्कै कठिन हुने देखिएको छ । एमालेसँग मिलेर उपमेयरमा उम्मेदवारी दिँदा लोकतान्त्रिक फोरमले १० हजार मत ल्याएको थियो । राप्रपाले ५ हजार ५ सय मत ल्याएको थियो । यसपटक जसपा पनि विभाजित छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले एमालेको चुनाव चिन्हबाट चुनाव लड्दैछ ।

३ महानगरमा गठबन्धनका ५ दल मिल्दा पनि एमालेलाई हराउन कठिन, यस्तो छ हिसाबकिताब