NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मनाउन आएका रामचन्द्रलाई जगन्नाथले अवाक बनाएपछि …

काठमाडौं । स्थानीय तहमा ३० वैशाखमा हुने चुनावमा देशैभर माहोल छाएको छ । ७५३ तहमा एकैपटक चुनाव हुँदै गर्दा चितवनको भरतपुरको चर्चा भने बेग्लै छ ।

कांग्रेसको बलियो पकड भएको भरतपुरमा मेयरमा माओवादीबाट उम्मेदवार खडा भएपछि फरक देखिएको हो । स्थानीय तहको निर्वाचनमा भरतपुर ‘इपिसेन्टर’ हो भन्दा पनि फरक पर्दैन । किनकी भरतपुरको नतिजाले सत्ता गठबन्धन, आगामी प्रदेशसभा र संघीय संसदको चुनावसम्म दलहरूले गर्ने समीकरणलाई र्न फरक पार्नेसम्मको स्थिति ल्याउँछ । यसैले भरतपुरमा धेरै नजर छ । प्राथमिकता पनि उत्तिकै छ ।
सत्ता गठबन्धनको तर्फबाट मेयरमा माओवादीकी रेनु दाहालको उममेदवारी परेपछि कांग्रेसमा देखिएको असन्तुष्टि बागी उम्मेदवारीसम्म पुगेको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवादेखि प्रभावशाली नेता लगाएर उनको उम्मेदवारी फिर्ता गराउने प्रयास नभएको होइन ।
तर यस्ता प्रयासमा मेयरमा बागी उम्मेदवारी दिएका पौडेलको प्रस्तुति र प्रस्ताव पनि अलग हुने गरेको छ ।

नेताहरूले सत्ता गठबन्धनको भावना र सहमतिभन्दा बाहिर नजान पौडेललाई अपिल गर्दै आएका छन् । तर उनको प्रस्तुति र जवाफ फरक छ । उम्मेदवारी फिर्ता गर्नुस् भन्नेलाई उनी भन्दै आएका छन् । ‘मेरो होइन रेनुको उम्मेदवारी फिर्ता भए अवस्था सबैको लागि अनुकुल बन्छ ।’
बिहीबार भरतपुरमा चुनावी सभा अघि उनलाई मनाउने प्रयत्नस्वरुप नेता रामचन्द्र पौडेलले जगन्नाथसँग भेट गरे । तर पौडेलको जवाफ फेरि पनि उस्तै रहेको उनी स्वयंम नै बताउँछन् ।

‘अहिले मात्रै होइन पहिले पनि मेरो उम्मेदवारी फिर्ताको लागि नेताहरूले आग्रह गर्दै आउनुभएको थियो । भरतपुरमा बिहीबार पनि उहाँले यस्तै आग्रह गर्नुभयो । उम्मेदवारी फिर्ता लिएर केन्द्रीय राजनीतिलाई सहज बनाइदिनुस् भन्न्ुभएको थियो’ जगन्नाथले नेपालवाचसँग भने, ‘म धेरै अघि बढिसके । चितवनका जनताका मत माओवादीलाई मेयरमा जिताउने भन्ने छैन । बरु सक्नुहुन्छ भने रेनुको उम्मेदवारी फिर्ता गराउन लाग्नुस् । सबैथोक मिलेर जान्छ ।’ जगन्नाथले यस्तो जवाफ दिएपछि पौडेल अवाक भएका थिए ।

अब पौडेललाई भेटेरै मनाउन बाँकी प्रभावशाली नेतामा डा. शेखर कोइराला र महामन्त्री गगन थापा छन् । चुनावी सभामा सहभागी हुने बताइए पनि ढिलो गरी उनीहरू दुवैलाई खबर गरिएको बुझिएको छ ।

शेखर कोइरालालाई किन बोलाइयो भरतपुर ?

१४ औं महाधिवेशनपछि नेता रामचन्द्र पौडेल सत्ता गठबन्धन र चुनावी तालमेलको पक्षमा खुलेर लागेका छन् । आगामी प्रदेश र संघीय संसदको निर्वाचनमा पनि मिलेर जाने र एमाले हराउने अभियानमा लाग्ने मत पौडेलको छ ।

चितवनमा चुनावी सभा अघि कांग्रेसको तर्फबाट पौडेलले जगन्नाथलाई मनाउने प्रयास गरेका हुन् । तर सफल भएनन् । पौडेलले बोलाएर उनी प्रस्तावक र समर्थकसहित रामचन्द्रसँग ब्रेकफास्ट छलफलका निम्ति पुगेका थिए ।  तर उनले प्रधानमन्त्रीसँगको भेटबारे कुनै जानकारी नआएको बताए ।

‘रामचन्द्रजीलाई भेटेर म चुनावी प्रचारमा निस्किहालेँ । आज दिनभर घरदैलोमा व्यस्त हुन्छु’ पौडेलले भने, ‘प्रधानमन्त्रीबाट भेट्ने कुरा आएको छैन । छलफलमा बोलाए मलाई कुनै आपत्ति छैन । मेरो उम्मेदवारी किन हो भनेर राख्छु । तर अब कसैले भनेर पनि म उम्मेदवारी फिर्ता लिने पक्षमा छैन ।’

रामचन्द्र पौडेलसँग भेट गर्न जाँदा जगन्नाथ प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेलसहित पुगेका थिए । मेयरमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता जगन्नाथ पूर्व राष्ट्रिय सभा सदस्य, भरतपुरमा मेयर भइसकेका नेता हुन् ।