NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यसरी जलाइयो श्रीलंकामा प्रधानमन्त्रीको घर

कोलम्बो । श्रीलंकामा सत्तारुढ राजपाक्षे परिवारको एक घर जलाएपछि देशभर कर्फ्यू लगाइएको छ । कानुन उल्लंघन गर्नेलाई देखेमा गोली हान्न सेनालाई निर्देशन दिइएको छ । आर्थिक संकटका कारण श्रीलंका सरकारमाथि जनताको दबाब बढ्दै गएको छ ।

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेले सोमबार राजीनामा दिए पनि जनताको आक्रोश रोकिएन र दिनभर अराजकताको वातावरण रह्यो । भीडले राजपाक्षेको घर घेरा हाल्दा उनी त्यहीँ थिए । महिन्दालाई सुरक्षा गार्डले घेरेर बिहानै त्यहाँबाट सुरक्षित निकालेकाे थियाे ।

सुरक्षा बलले प्रदर्शनकारीमाथि अश्रुग्यास र गोली प्रहार गर्नुपर्ने स्थिति बनेको थियो । श्रीलंकामा कर्फ्यूको बावजुद पनि प्रदर्शन जारी छ । सोमबारदेखि अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने दुई सय जना घाइते भएका छन् ।

श्रीलंकामा महिनाैंदेखि बढेको महंगी र बारम्बार विद्युत कटौतीका कारण विरोध प्रदर्शन भइरहेको छ । सोमबार कोलम्बोमा महिन्दा राजपाक्षेत्रको टेम्पल ट्रीज निवासबाहिर सरकार समर्थक र सरकार विरोधी प्रदर्शनकारीहरू बीच हिंसात्मक झडप भयो, त्यसपछि गाल फेस ग्रीन पार्कमा पनि त्यस्तै भयो ।

त्यस क्षेत्रमा प्रहरी र दंगा विरोधी टोली परिचालन गरिएको छ । सरकारका समर्थकले सीमा नाघेपछि प्रहरीले उनीहरुमाथि बल प्रयोग पनि गरेको थियो ।

सरकार समर्थकहरूले आक्रमण गरेपछि सरकार विरोधी प्रदर्शनकारीहरूले जवाफी कारबाहीमा सत्तारुढ दलका सांसदलाई निशाना बनाएका थिए । एक सांसदले प्रदर्शनकारीमाथि गाेली चलाएर आफूले पनि आत्महत्या गरेका थिए ।

रात बित्दै जाँदा आन्दोलनकारीकाे भीडले राजपाक्षे परिवार, मन्त्री र सांसदका घरमा आगजनी गर्न थाले । यसमा दक्षिणी श्रीलंकाको हम्बनटोटा क्षेत्रकाे एउटा गाउँमा रहेको राजपाक्षे परिवारको घरमा आगजनी गरे । प्रधानमन्त्री राजपाक्षेकाे उक्त घर विवादास्पद संग्रहालयमा परिणत गरिएकाे थियाे ।

सामाजिक सञ्जालमा आएको फुटेजमा प्रदर्शनकारीहरू घर अगाडि हल्ला गरिरहेको देख्न सकिन्छ । राष्ट्रपतिको सरकारी निवास वरपरका घरमा समेत आगजनी गरिएको छ ।

महिन्दा राजपाक्षेले राजीनामा दिएपछि प्रदर्शनकारीले उनको निवासमा प्रवेश गरी आन्तरिक सुरक्षा घेरा तोड्ने प्रयास गरेका थिए ।

राजपाक्षेको घरबाहिर पार्किङ गरेको बसमा पनि प्रदर्शनकारीले आगजनी गरेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो ।

महिन्दा राजपाक्षे मंगलबार बिहान कोलम्बो छाडेर गएका छन् । उनी अहिले कहाँ छन् भन्ने बारे जानकारी गराइएकाे छैन । कोलम्बोका अन्य स्थानहरूमा पनि तनाव जारी छ । प्रदर्शनकारीले विमानस्थल जाने बाटोहरू अवरुद्ध पारेका छन् ।

प्रशासनले हिंसा नियन्त्रणका लागि बुधबारसम्म कर्फ्यु लम्ब्याएको छ । मंगलबार दिनभर राजधानीका सडक सुनसान भए पनि सोमबार रातिको हिंसाका निशाना जताततै महसुस गर्न सकिन्छ । प्रदर्शनकारीले सार्वजनिक गाडीहरु आगजनी गरेर पानीमा डुबाइदिएका छन्, कतिपयका झ्यालका सिसा फुटेका छन् र जलेको टायरबाट अझै धुवाँ निस्किरहेको छ ।

रिपोर्टका अनुसार श्रीलंकामा सोमबार राति ५० भन्दा बढी राजनीतिज्ञको घर जलाइएको थियो । महिन्दा राजपाक्षेका भाइ राष्ट्रपति गोटाबाया राजपाक्षेको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारी उपस्थित रहेको तथ्यबाट पनि स्थितिको गम्भीरताको अनुमान लगाउन सकिन्छ ।

धेरै राजनीतिज्ञहरूले सुरक्षित स्थानमा शरण लिएका छन् वा जनताको अगाडि आउनबाट जोगिइरहेका छन् । श्रीलंकाका सूचना तथा प्रसारणमन्त्री नालाका गोदाहेवाले भनेका छन्, ‘सत्तारुढ दलका राजनीतिज्ञका लागि कुनै पनि हिसाबले सुरक्षित छैन ।’

उनको घर पनि आन्दोलनकारीले जलाएका छन् ।

महिन्दा राजपाक्षेलाई कुनै समय सिंहली बहुसंख्यकहरूले युद्ध नायकको रूपमा हेरेका थिए । तर आज अचानक उनी खलनायक बनेका छन् । धेरैले श्रीलंकाको वर्तमान अवस्थाका लागि महिन्दा राजपाक्षेका समर्थकहरूलाई दोष दिन्छन् ।

अहिलेसम्म राजपाक्षे परिवार हरेक संकट र परिस्थितिमा एकअर्काको साथमा उभिने गरेको थियो तर यसपटक उनीहरुबीचको मतभेद सार्वजनिक भएको छ ।

गोटाबायाले परिवार प्रमुख महिन्दालाई जिम्मेवारी लिएर राजीनामा दिन आग्रह गरेपछि समस्या सुरु भएको हो । श्रीलंकाको राजनीतिमा वर्षौंसम्म प्रभुत्व जमाउने राजपाक्षे परिवारले यो संकटलाई कसरी पार गर्ने हो, यो प्रश्न अहिले सबैका अगाडि छ ।

श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । त्यहाँ दैनिक उपभोग्य वस्तुहरु महँगो भएकाले जनता निराश र आक्रोशित छन् ।

देशमा विदेशी मुद्रा सञ्चिति घटेको छ । औषधि, इन्धन र खाद्यवस्तुको अभाव भएको छ । सरकारले आपतकालीन आर्थिक सहयोग मागेको छ । उनीहरूले देशको दुर्दशाको लागि कोरोना महामारीलाई दोष दिएका छन् ।

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले राजीनामा दिए

श्रीलंका : प्रदर्शनकारीले प्रधानमन्त्रीसहित १२ मन्त्रीको घर जलाए