NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
स्थानीय तहका अनुकरणीय काम

बेरोजगारी न्यूनीकरणका लागि मधुवनका प्रत्येक वडामा प्राविधिक विद्यालय

काठमाडौं । अहिले मुलुकमा शैक्षिक बेरोजगारी झाङ्गिएको छ । स्नातक-स्नातकोत्तर गरेकै ठूलो जनशक्तिले बेरोजगारीको समस्या झेलिरहेको छ । तिनै शैक्षिक जनशक्ति निराश भएर विदेश पलायन भइरहेका छन् ।

यो विद्यमान शैक्षिक प्रणाली प्राविधिक, व्यवहारिक र उद्यमशील नहुनुको परिणति हो ।

यही समस्याको समाधानका लागि बर्दियाको मधुवन नगरपालिकाले ‘एक वडा एक प्राविधिक शिक्षालय’ स्थापना गर्ने नीति लिएको छ ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख नारायणप्रसाद खनालका अनुसार वडा नं. १ स्थित त्रिभुवन माध्यमिक विद्यालय सूर्यपटुवामा दुई वर्षे होटल व्यवस्थापन कोर्स सुरु गरिएको छ ।

त्यस्तै, वडा नं. ३ स्थित नेपाल राष्ट्रिय मावि धरौनामा बाली विज्ञानको अध्यापनका लागि प्रक्रिया अघि बढाइएको छ ।

वडा नं. ४ को नेपाल राष्ट्रिय नमुना मावी ढोडरी प्राविधिक विद्यालयमा सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा र प्रिडिप्लोमा कोर्स सञ्चालनमा छ ।

यसैगरी वडा नं. ५ मा अमिन विषयका लागि प्रक्रिया अघि बढाइएको छ ।

वडा नं. ६ को गुराँस माविमा बाली विज्ञान र पशु विज्ञानमा डिप्लोमा र प्रिडिप्लोमा र वडा नं. ७ को शुक्र प्राविधिक विद्यालयमा अटो मोवाइलको डिप्लोमा र प्रि–डिप्लोमा पढाइ हुन्छ ।

यसैगरी वडा नं. ९ को नेपाल राष्ट्रिय मावि पूर्णपुरमा वन विज्ञानमा तीन वर्षे डिप्लोमा अध्यापन हुन्छ ।

अन्य वडामा पनि प्राविधिक विद्यालय सञ्चालन गर्न खोजिए पनि माथिल्लो निकायबाट स्वीकृति नपाएकाले ढिलाइ भएको शिक्षा शाखाका प्रमुख खनाल बताउँछन् ।

यसअघि पहिलोपटक ०५९ मा गुराँसमा माविमा प्राविधिक विद्यालय स्थापना गरिएको थियो भने ०७२ मा नेपाल राष्ट्रिय नमुना मावी ढोडरीमा अर्को प्राविधिक विद्यालय सञ्चालनमा ल्याइएको थियो ।

बाँकी प्राविधिक विद्यालय भने स्थानीय तहको निर्वाचनपछि सञ्चालनमा आएका हुन् ।

नगरपालिकाका वडाहरूमा सञ्चालित प्राविधिक विषय पढ्न विभिन्न जिल्लाहरूबाट विद्यार्थी आउँछन् । हाल ती विद्यालयहरूमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

नगरपालिकाकी उपमेयर सुवरानी थारू (चेतना) शैक्षिक बेरोजगारीलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रम ल्याइएको बताउँछिन् । ‘हातमा सिप नहुने अनि जिविकोपार्जन पनि नहुने कोरा शिक्षा पढ्नुको औचित्य छैन,’ उनी भन्छिन्, ‘मानिसहरूलाई कम्तीमा प्राविधिक शिक्षा दिइयो भने उ आफैं रोजगार बन्न सक्छ, यही उद्देश्यले हामीले प्राविधिक शिक्षाको कार्यक्रम सुरु गरेका हौं ।’

एक्साभेटरको बिगबिगीबीच रोजगार सृजना गर्न डोजर प्रयोगमा रोक लगाउने स्थानीय तह – NepalWatch