NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रोनाल्डिन्होले छाने विश्वकप जित्ने एकमात्र टोली, आफ्नै देश छाडेर रोजे कट्टर प्रतिद्धन्द्धी

काठमाडौं । ब्राजिलका विश्वकप विजेता खेलाडी रोनाल्डिन्होले कतारमा यसैवर्ष हुने विश्वकप फुटबल जित्ने सबैभन्दा दाबेदार टोली छानेका छन् । सन् २००२ मा ब्राजिललाई पाँचौ विश्वकप जिताउन महत्वपूर्ण योगदान गरेको रोनाल्डिहोले हालै सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै विश्वकप जित्न काबिल एकमात्र टोली छानेका हुन् ।

रोनाल्डिन्होले फिाफा वरीयतामा एक नम्बरका रहेको आफ्नै देश ब्राजिललाई नछानी कट्टर प्रतिद्धन्द्धी देश अर्जेन्टिनालाई छानेका छन् । उनले अर्जेन्टिनाले विश्वकप जित्ने दुई कारण दिएका छन् ।

पहिलो कारण, अर्जेन्टिनासँग विश्वकै सर्वोत्कृष्ट खेलाडी लियोनल मेसी छन् । मेसीको सपना र संकल्प अहिले अरु देशका लागि खतरा रहेको रोनाल्डिन्होको भनाइ छ ।

दोस्रो, अर्जेन्टिना पछिल्लो समय लयमा छ । गत वर्ष बलियो ब्राजिललाई उसको घरेलु मैदानमा हराएपछि अर्जेन्टिनाको मनोबल बढेको र त्यो विश्वकप विजेतासमेत बन्नसक्ने अवस्थामा पुगेको रोनाल्डिन्होले बताएका छन् ।

रोनाल्डिहोले योपटक युरोपियन टिमहरूले उपाधि नजित्ने ठोकुवा नै गरेका छन् । यदि, अर्जेन्टिनाले उपाधि नजिते आफ्नै देश ब्राजिलले जित्ने रोनाल्डिन्होको दाबी छ ।

कतारमा विश्वकप फुटबल सुरु हुन पाँच महिना बाँकी रहँदा दाबेदार राष्ट्रहरूबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

यसअघि विश्वकप विजेता जिनेदिन जिदानले पनि तीन दाबेदार टिम छनोट गरेका थिए । फ्रान्सलाई सन् १९९८ मा पहिलोपटक विश्वकप जिताउन महत्वपूर्ण योगदान दिएका जिदानले दाबेदार टिममा सबै युरोपियन टिम रोजेका थिए । उनले भने दुई बलिया दक्षिण अमेरिकी टोेली ब्राजिल र अर्जेन्टिनाको नाम लिएका थिएनन् । उनले मुख्य दाबेदार टोलीमा आफ्नै देश फ्रान्स, बेल्जियम र पोर्चुगललाई राखेका थिए ।

फुटबलका अधिकांश पण्डितहरूले योपटक फ्रान्स र ब्राजिललाई प्रमुख दाबेदार मानेका छन् । केहीले भने अर्जेन्टिना, इंग्ल्याण्ड, स्पेन र पोर्चुगलको नाम लिइरहेका छन् ।

जिदानले छाने कतार विश्वकप जित्ने ३ दाबेदार टोली