NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रोनाल्डिन्होविरुद्ध खेल्नेमात्र होइन जित नै निकाल्ने भाग्यमानी नेपाली खेलाडी बने रोहित

रोहितसहितको केडिरीलाई ‘ट्रोफियो रोनाल्डिन्हो’को उपाधि

काठमाडौं । नेपाली मध्यपंतिका खेलाडी रोहित चन्द भाग्यमानी नेपाली खेलाडी बनेका छन् । उनी विश्वचर्चित ब्राजिलियन खेलाडी रोनाल्डिन्होविरुद्ध खेल्ने एकमात्र नेपाली खेलाडीको रुपमा भाग्यमानी करार भएका छन् ।

रोहितसम्मिलित इण्डोनेसियन क्लब पेर्सिक केडिरी एफसीले रोनाल्डिन्होसहितको टोली रेन्स नुसनतारा एफसीलाई हराउँदै उपाधि नै जित्यो । यसरी रोहित विश्वविजेता रोनाल्डिन्होलाई पनि पराजित गर्दै थप भाग्यमानी सावित भए ।

इण्डोनेसियाको मालाङस्थित कान्जुरुहान स्टेडियममा आइतबार भएको ‘ट्रोफियो रोनाल्डिन्हो’ नामक मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आफ्ना दुई खेलमा नै सफलता हात पार्दै पेर्सिकले उपाधि जित्न सफल भएको हो ।

पेर्सिकले पहिलो खेलमा रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारालाई टाइब्रेकरमा ४–२ ले तथा दोस्रो खेलमा एरेमा एफसीलाई टाइब्रेकरमै ५–४ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

रोहितले रेन्स नुसनताराविरुद्ध पहिलो रोजाइमा खेलेका थिए । उनले विश्व चर्चित ब्राजिली लेजेन्ड रोनाल्डिन्होविरुद्ध पहिलो रोजाइमै खेल्ने मौका पाएका हुन् ।

निर्धारित ३० मिनेटका खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा रोनाल्डिन्हो र रोहित दुवैले पेनाल्टी प्रहार गरेनन् । दोस्रो खेलमा भने उनी बेञ्चमै रहे ।

राेनाल्डिन्होविरुद्ध खेल्न पाउँदा रोहित निकै खुसी देखिएका थिए । खेल सुरु हुनुअघि र पछि रोनाल्डोले सबैसँग हात मिलाउने क्रममा रोहितलाई भेटेका थिए । रोहितले उनलाई केही भनेको भिडियोमा देख्न सकिन्छ ।

रेन्स नुसनतारा चर्चित इन्डोनेसियन सेलिब्रिटी गायक तथा टिभी पर्सनलिटी रफी अहमद र रुडी सलिमको स्वामित्वमा रहेको क्लब हो । यो क्लब यसै सिजन इन्डोनेसियाको दोस्रो डिभिजन लिग टुबाट शीर्ष डिभिजनमा बढुवा भएको थियो । त्यसपछि क्लबका मालिकद्धयले आफ्ना समर्थकलाई सरप्राइज दिने लक्ष्यसहित गत मार्चको अन्तिमतिर रोनाल्डिन्होलाई इन्डोनेसियामा फुटबल खेल्न बोलाउने वाचा गरेका थिए ।

त्यही वाचाअनुसार रोनाल्डिन्हो रेन्स नुसनतारा एफसीबाट एक खेल खेल्न सहमत भएको बताइएको छ ।

४२ वर्षीय रोनाल्डिन्होले बालोन डि’ओरसँगै ब्राजिलका लागि विश्वकप, कोपा अमेरिका, कन्फेडेरेसन कपलगायत सबै उपाधि जितेका छन् । यस्तै, क्लब फुटबलबाट च्याम्पियन्स लिगसँगै अन्य थुप्रै उपाधि जितिसकेका छन् ।

उनले युरोपका बार्सिलोना, पिएसजी र एसी मिलानजस्ता ठूला क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।

इस्लामिक राष्ट्र कतारले लगाउँदैछ विश्वकप हेर्न जानेलाई यस्ता नियम