NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

अर्जेन्टिनी प्रशिक्षक स्कालोनीले छाने विश्वकप दाबेदार ८ राष्ट्र, परेन विश्वकै नम्बर २ टोली

काठमाडौं । कतारमा विश्वकप फुटबलको महाकुम्भ आउन अब चार महिनामात्र बाँकी छ । यो बीचमा विश्वकप विजेताबारे विभिन्न अनुमान भइरहेका छन् ।

यसैबीच, अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले पनि विश्वकपबारे आफ्नो धारणा राखेका छन् ।

आफ्नै देशको सञ्चारमाध्यम टिवाई स्पोर्ट्ससँग कुरा गर्दै उनले अर्जेन्टिना कतार विश्वकपको एक प्रमुख दाबेदार टोली भएको बताए । अर्को दक्षिण अमेरिकी टोली ब्राजिल तथा युरोपियन टोलीहरू जर्मनी, फ्रान्स, स्पेन, पोर्चुगल, डेनमार्क, इंग्ल्याण्ड आदि प्रमुख दाबेदार रहेको उनको भनाइ छ ।

‘अर्जेन्टिना विश्वकपको एक दाबेदार टोली हो । तर, कतिऔं दाबेदार भन्न सक्तिन । तपाईँलाई थाहा छ विश्वकपमा सबै क्षेत्रबाट उत्कृष्ट टोली आउँछन्,’ उनले भने, ‘युरोपबाट झनै बढी आउँछन्, जर्मनी, फ्रान्स, स्पेन, पोर्चुगल, डेनमार्क, इंग्ल्याण्ड आदि । दक्षिण अमेरिकाबाट ब्राजिल पनि हुनेछ । यी सबै टोली अर्जेन्टिनाका लागि कठिन प्रतिद्धन्द्धी हुन् ।’

स्कालोनीले फिफाको दोस्रो वरीयतामा रहेको बेल्जियमको भने नाम लिएनन् । साथै, उनले दुई पटकको विश्वविजेता आफ्नै छिमेकी देश उरुग्वेको पनि नाम लिन चाहेनन् ।

प्रशिक्षक स्कालोनीले कप्तान लियोनल मेसी र एंगेल डी मारियाको अनुभव अर्जेन्टिनी टोलीको लागि सबैभन्दा ठूलो आधार हुने बताएका छन् ।

यस्तै, पाउलो डिबाला, इमिलियानो मार्टिनेज, लाउटारो मार्टिनेस, रोड्रिगो डे पाउल, लेयान्द्रो पराडेसजस्ता खेलाडी पनि टोलीका लागि अत्यावश्यक रहेको उनले बताए ।

अर्जेन्टिनाले ब्राजिललाई उसकै घरेलु मैदानमा हराएर कोपा अमेरिका जितेको र ३३ खेलसम्म अपराजित रहेकाले आफूहरू उच्च मनोबलका साथ विश्वकप जित्ने उद्देश्यले कतार जाने स्कालोनीले स्पष्ट पारे ।

विश्वकप दाबेदार ८ टोली छानेका मुलरले इंग्ल्याण्डको नामै लिएनन्